काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सुनसरी–२, रौतहट–१, भक्तपुर–२ का दुई र कैलाली–१ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो। देशभरका निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएका छन्।
उम्मेदवारको योग्यता नपुगेको ठहर गर्दै उजुरी दिने यही अवधिलाई तोकिएको थियो। प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ अनुसार अनुसूची १६ बमोजिम उजुरी दर्ता भई अनुसूची १७ अनुसार दर्ता किताबमा अभिलेख राखिएको र उजुरीकर्तालाई अनुसूची १८ अनुसारको भर्पाई प्रदान गरिएको आयोगले जनाएको छ।
उजुरी दर्ता म्याद समाप्त भएपछि निर्वाचन अधिकृतले म्यादभित्र प्राप्त उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशन गरेका छन्। प्रकाशित सूचनाअनुसार उजुरी परेका उम्मेदवारले तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ।
निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो ३ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ र निर्णय गरिनेछ। माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ। दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म दर्ता भएका उम्मेदवारमध्ये पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन्।






Facebook Comments