काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि लगातार तीन पटक निर्वाचित भएको काठमाडौं–४ निर्वाचन क्षेत्र छाड्दै थापा सर्लाही–४ झरेका हुन्।

कांग्रेसले काठमाडौं–४ मा सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ भने सर्लाही–४ मा थापाको तर्फबाट मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले वारेसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्। थापा भने भोलि मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा छन्।

सर्लाही–४ मा थापाको मुख्य प्रतिस्पर्धी २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी अमरेशकुमार सिंह हुने देखिएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि विद्रोही उम्मेदवार बनेर सिंह निर्वाचित भएका थिए। यसपटक भने उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।

यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वरराय यादव र नेकपा एमालेबाट रविशङ्कर कुशवाहा पनि प्रतिस्पर्धामा छन्।

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले २० हजार १७ मत ल्याएर जित हात पारेका थिए भने कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३ मत प्राप्त गरेका थिए। त्यस्तै, स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्। जसपा नेपालका राकेश कुमार मिश्रले ५ हजार ८१३ मत पाएका थिए।

त्यस निर्वाचनमा बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले १ हजार १५८, जनमत पार्टीका रामबावु रायले ३ हजार ४२९ र रास्वपाका धिरज ठाकुरले ३०६ मत मात्र प्राप्त गरेका थिए।

हालै काठमाडौंका पूर्वमेयर बालेन साह रास्वपामा प्रवेश गरेपछि उक्त पार्टीले ‘मधेश पुत्र’ ब्रान्डिङ गर्दै बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने रणनीति बनाएको चर्चा छ। यही कारण सर्लाही–४ मा थापा र अमरेशबीचको प्रतिस्पर्धा कडा हुने विश्लेषण गरिएको छ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पनि यस क्षेत्रमा कांग्रेस पहिलो दल बनेको थियो। कांग्रेसले १६ हजार २९ मत पाउँदा जनमत पार्टीले १२ हजार ५९५, नेकपाले (माओवादी केन्द्र र एकीकृत समाजवादी) ११ हजार २६९ र एमालेले ९ हजार ४७१ मत ल्याएका थिए। रास्वपाले भने समानुपातिकतर्फ १ हजार १९९ मत मात्र पाएको थियो।

२०७४ सालको निर्वाचनमा पनि एमाले–माओवादी गठबन्धन हुँदाहुँदै कांग्रेसका उम्मेदवारले जित हात पारेका थिए। समानुपातिक र प्रत्यक्ष दुवै तर्फको मत विश्लेषण गर्दा सर्लाही–४ मा गगन थापाको जित सहज देखिएको विश्लेषकहरूको भनाइ छ। अमरेशकुमार सिंहले आफ्नो जित दोहोर्याउन यसपटक मतमा ठूलो उलटफेर आवश्यक पर्ने देखिन्छ।