काठमाडौँ — कलाकार ज्योति मगरले आगामी निर्वाचनमा नयाँ–पुराना दल वा अनुहारभन्दा राष्ट्र, स्वाधीनता र दीर्घकालीन विकासको स्पष्ट भिजन बोकेकाले मात्रै जित्नुपर्ने धारणा व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले देशलाई बाह्य शक्तिको प्रयोगस्थल बन्न नदिनुपर्नेमा जोड दिएकी छन्।

उनले केवल नयाँ हुनु समाधान नभएको र भिजनविहीन, उत्तेजक तथा भ्रम फैलाउने प्रवृत्तिले राष्ट्र कमजोर हुने चेतावनी दिएकी छन्। मगरले नेपालको स्वाधीन इतिहास र राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गर्न जनतालाई अपिल गर्दै विदेशी प्रभाव, शक्ति केन्द्र वा एजेन्डाको प्रयोगबाट देशलाई जोगाउनुपर्ने उल्लेख गरेकी छन्।

अन्त्यमा उनले भनेकी छन्, “जनताले भिजनविहीन, अविवेकशील र उत्तेजक गतिविधि गर्नेहरुलाई चिन्नुपर्छ। यो देश कुनै पनि बाह्य शक्तिको प्रयोगशाला होइन।”