
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहालीका लागि जाने भएको छ।
सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यका अनुसार शुक्रबार दिउँसो १ बजे सभापति थापा, पदाधिकारी तथा केन्द्रीय सदस्यहरू औपचारिक रूपमा पदबहाली गर्न सानेपा पुग्नेछन्।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री तथा डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्रीमा चयन भएका थिए। विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको थियो।
२०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित थापा र शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई शेरबहादुर देउवा र डा. शेखर कोइराला नेतृत्वका समूहले अस्वीकार गरेका थिए। दुवै समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ भने सर्वोच्च अदालतले पनि देउवा र कोइराला समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पदबहालीका लागि केन्द्रीय कार्यालय जान लागेको हो।






Facebook Comments