झापा । प्रतिनिधिसभाको निर्वाचनमा केही क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ । त्यसमध्येको एउटा निर्वाच क्षत्र हो झापा–२ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर झापा–२ मा आमनेसामने चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । घिमिरे नेकपा एमालेबाट र रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका हुन् ।
यसपटक झापा–२ मा तीन महिला र दुई अधिवक्तासहित विभिन्न पृष्ठभूमिका उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाकी रानामगरसँगै नेकपाबाट पूर्वमन्त्री धर्मशीला चापागाईं र नेपाली कांग्रेसबाट पूर्वसांसद सरिता प्रसाईं उम्मेदवार छन् । यस्तै स्वतन्त्र उम्मेदवार अधिवक्ता युवराज संग्रौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) पनि प्रतिस्पर्धामा छन्। ‘हेभिवेट’ उम्मेदवारहरूको उपस्थितिले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट एमालेका घिमिरे विजयी भएका थिए । अध्यक्ष ओलीका विश्वासपात्र मानिने घिमिरेले उक्त चुनावमा २८ हजार ७ सय १६ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी भद्रप्रसाद नेपालले २६ हजार ४ सय ५५ मत पाएका थिए। त्यतिबेला नेपाल स्वतन्त्र उम्मेदवार थिए ।
पूर्वउपसभामुख रानामगर अनाथ बालबालिकाको क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उपसभामुख रहँदा संयुक्त राष्ट्रसंघको कार्यक्रमको नाममा पाँच युवालाई अमेरिका लैजान खोजिएको आरोप उनीमाथि लागेको थियो । उनले अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरी भिसा अन्तर्वार्ता छिटो गरिदिन पत्र लेखेकी थिइन् । उक्त विवादपछि विभिन्न दलले उनको राजीनामा मागे पनि उनले अस्वीकार गरेकी थिइन् ।
इतिहास हेर्दा, यस क्षेत्रमा २०६४ मा माओवादी, २०७० मा कांग्रेस, २०७४ र २०७९ मा एमालेका उम्मेदवार विजयी भएका छन्। झापा–२ मा कुल १ लाख ४७ हजार ५ सय २२ मतदाता छन्, जसमा १३ हजार ४ सय ३१ नयाँ मतदाता थपिएका छन् ।
गत निर्वाचनको समानुपातिक मत परिणाम ः
नेकपा एमाले : २६ हजार ४ सय ९०
रास्वपा : २२ हजार ५ सय १७
कांग्रेस : १५ हजार ४ सय ९८
राप्रपा : ७ हजार ८ सय ८०
माओवादी : ३ हजार ८ सय ६९
अघिल्लो निर्वाचनको नतिजा र एमालेको सांगठनिक शक्ति घिमिरेका लागि बलियो आधार बनेको छ भने रास्वपाको बढ्दो जनआधार, नयाँ र युवा मतदाताको आकर्षण रानामगरको पक्षमा छ । कांग्रेस, नेकपा र राप्रपाका उम्मेदवारहरूले मत विभाजन गर्ने सम्भावना रहेकाले नतिजा साँघुरो अन्तरमा तय हुने देखिन्छ । अन्ततः परम्परागत मतदाताको निरन्तरता हावी भए एमालेको पुनरावृत्ति सम्भव छ भने परिवर्तनको मनोविज्ञान निर्णायक बने रास्वपाले उल्टो नतिजा निकाल्न सक्छ ।






Facebook Comments