
रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका चर्चित पत्रकार ऋषि धमलाले चुनावी अभियानलाई तीव्र बनाउँदै स्थानीयसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्। घरदैलो कार्यक्रममार्फत जनताको बीचमा पुगिरहेका उनले स्थानीयका दैनिक समस्या बुझ्दै तत्काल समाधान खोज्ने पहलसमेत थालेका छन्।
प्रधानमन्त्री र मन्त्री जस्ता उच्च नेतृत्व दिएको जिल्ला भए पनि रौतहट विकासका सूचकांकमा अझै पछाडि परेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र कमजोर सडक पूर्वाधारका कारण यहाँका नागरिक आधारभूत सेवाबाटै वञ्चित छन्। शैक्षिक रूपमा देशकै कमजोर जिल्लामध्ये एक मानिने रौतहटमा उपचारका लागि बिरगञ्ज, काठमाडौं वा भारत जानुपर्ने बाध्यता कायमै छ। साथै, वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा पनि जिल्ला देशकै दोस्रो स्थानमा पर्छ। कालोपत्रेभन्दा कच्ची सडक बढी रहेको क्षेत्र नम्बर ४ मा उम्मेद्वार बनेका धमलाले आफू निर्वाचित भए जिल्लाको ‘कायापलट’ गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सामाजिक सुरक्षा भत्ता वितरणमा ज्येष्ठ नागरिक र महिलाले भोग्दै आएको सास्ती समाधान गर्न स्थलगत अनुगमन गर्दै सम्बन्धित निकायलाई सुधारका लागि दबाब दिएका छन्। मनोनयनपछि निरन्तर घरदैलोमा सक्रिय धमलाले विकासका ठूला सम्भावना हुँदाहुँदै पनि रौतहट पछाडि परेको उल्लेख गर्दै अब जिल्लाको समग्र रूपान्तरणका लागि ठोस काम आवश्यक रहेको बताएका छन्।
ऋषि धमला एक सक्रिय, जिम्मेवार र जनमुखी उम्मेद्वार हुन् जसले घरदैलो कार्यक्रममार्फत स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्यालाई बुझ्ने र समाधान गर्न पहल गर्ने व्यक्ति हुन्। उनले रौतहटको पिछडिएको अवस्था चिन्नुका साथै शिक्षा, स्वास्थ्य, सडक र रोजगारीजस्ता महत्वपूर्ण क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता देखाएका छन्। सामाजिक सुरक्षा र नागरिक सेवा सुधारमा सक्रियता देखाउनु उनको जनसेवा र विकासमुखी दृष्टिकोणको स्पष्ट संकेत हो।






Facebook Comments