धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको मनोनयन बिहीबार खारेज भएको छ।

निर्वाचन अधिकृत देवराज भारतीका अनुसार, प्रचलित निर्वाचन कानुन र निर्देशिकाले तोकेको मापदण्ड पूरा नगरेका कारण चौधरी उम्मेदवार बन्न कानुनी रूपमा अयोग्य ठहरिएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गर्ने मुख्य तीन आधारहरू प्रस्तुत गरेको छ:

फौजदारी कसुर र अदालतको फैसला– चौधरी वि.सं. २०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए। यद्यपि उनले राष्ट्रपतिबाट आम माफी पाइसकेका थिए, अदालतको फैसला बदर नभएको र दोषी ठहर कायम भएकाले उनी उम्मेदवार बन्न अयोग्य ठहरिएका हुन्।

फौजदारी अपराध संहिताको व्यवस्था– मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १५९ उपदफा (१०) अनुसार गम्भीर प्रकृतिका फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएका व्यक्तिहरू प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सक्दैनन्।

निर्वाचन आयोगको पूर्वनिर्णय– वि.सं. २०८० फागुन २४ गते आयोगले चौधरीलाई राजनीतिक दलको सदस्य बन्न पनि अयोग्य रहेको निर्णय गरिसकेको थियो।

यी आधारहरूलाई ध्यानमा राख्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।