काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् । सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन् । विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए । गगन सानेपा पुग्दा कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्दै स्वागत गरेका थिए ।
पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बसेको छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ । महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् । महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गरेका महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयहरू हुने बताए ।
“हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ,” पौडेलले भने, “विशेष महाधिवेशनबाट कांग्रेस त नयाँ बन्यो, अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो ।”
बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।






Facebook Comments