काठमाडौं ।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने लक्ष्य हासिल गर्न राष्ट्रिय सभालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष दाहालले युवापुस्ताको मुख्य माग सामाजिक न्याय, समावेशी लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र सुशासन रहेको उल्लेख गरे। यी लक्ष्य पूरा गर्न सभाको भूमिका सशक्त र परिणाममुखी हुनुपर्ने उनले बताए।
उनले जेनजी पुस्ताबाट उठेको भ्रष्टाचारविरोधी आन्दोलनले सिर्जना गरेको परिस्थितिलाई राष्ट्रहित, राष्ट्रिय एकता तथा संवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
संविधान र नियमावलीको व्यवस्थासँग प्रतिकूल नहुने गरी सभाका कामकारबाहीलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर सुधारका कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए। भौतिक संरचना, कार्यविधि तथा अन्य प्रशासनिक आयाममा सुधार गरिएको दाहालको भनाइ थियो।
राष्ट्रिय सभामा विगतदेखि अभ्यासमा रहेका सकारात्मक परम्परालाई अझ व्यवस्थित र सुदृढ बनाउँदै यस अधिवेशनमा नयाँ अभ्यास सुरु गर्न सबैको सहयोग आवश्यक रहेको उनले बताए।
विधेयकको अवस्थाबारे जानकारी दिँदै अध्यक्ष दाहालले हालसम्म राष्ट्रिय सभामा उत्पत्ति भएका ६८ वटा विधेयकमध्ये ३९ वटा प्रमाणीकरण भइसकेको, १२ वटा सरकारले फिर्ता लिएको र प्रतिनिधिसभा विघटनका कारण राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेका ७ सहित १२ वटा विधेयक निष्क्रिय भएको बताए।
त्यस्तै, सभामा हाल ५ वटा विधेयक विचाराधीन रहेको जानकारी दिँदै उनले एक विधेयक सैद्धान्तिक छलफलमै रहेको, एक विधेयक विधायन व्यवस्थापन समितिबाट पारित भएर प्रतिवेदन पेश भइसकेको तथा बाँकी ३ वटा विधेयक समितिमा दफावार छलफलको अन्तिम चरणमा रहेको बताए।






Facebook Comments