काठमाडौं । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवाी मनोनयन गराएका ४९ जना उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए । आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो । 

यसैबीच धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।

उनको उम्मेदवारी फिर्ताबारे सामाजिक सञ्जालमा हल्ला भइरहेको समयमा उनले उम्मेदवारी फिर्ता नलिएको प्रस्ट पारेकी हुन् । जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् । 

निर्वाचन आयोगका प्रवक्ता भट्टराईले धादिङ–१ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको बताए । 

भट्टराईले देशैभर शान्तिपूर्ण तवरले निर्वाचन कार्यक्रम अघि बढिरहेको जानकारी दिए । निर्वाचनका लागि समानुपातितर्फ करिव डेड करोड मतपत्र छापिसकिएको र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेसंगै प्रत्यक्षतर्फको मतपत्रको डिजाइन गरेर छपाइको कार्य सुरु गरिने छ । प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सम्पन्न भइसकेको जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक जनशक्ति, मतपत्र लगाएका सामाग्री सातै प्रदेशको निर्वाचन कार्यालयमा पुराइसकिएको आयोगले जनाएको छ ।