काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन् ।
उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफुहरुले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले बामपन्थीहरु एकताबद्ध हुन उनले आह्वान समेत गरे ।
त्यस्तै प्रचण्डले जेनजी आन्दोलन र संसद बिघटनपश्चात संसद पुर्नस्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफुहरुले निर्वाचनमा नै जोड दिएको बताए । अहिले देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नंवरको पार्टी हुने दावी गरे ।
त्यसैगरि नेकपाका सह–संयोजक माधव कुमार नेपालले कम्युनिष्ट पार्टीमा धेरै बिकृति र समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि कम्युनिष्ट पार्टीहरु एकीकृत भएको बताए । गलत प्रवृति र सोचसंग जुध्नका लागि पवित्र भावनाका साथ जनतामाझ जाने र जनताले नेकपालाई सवैभन्दा ठूलो पार्टीको रुपमा बिजयी गराउने उनको भनाइ छ ।
कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, अम्बिरबाबु गुरुङ लगाएतका नेताहरुलाई नेकपा प्रवेश गराइएको थियो ।






Facebook Comments