तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले चुनावी अभियानलाई कागजी तथ्य र बहसभन्दा बाहिर निकालेर प्रत्यक्ष अनुभवमा आधारित बनाउनुपर्ने बताएका छन्।
पूर्वी नेपाल केन्द्रित चुनावी अभियानका क्रममा तेह्रथुम पुगेका शाहले म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै कुनै पनि ठाउँलाई रिपोर्ट, पुस्तक वा इन्टरनेटका सूचनाबाट मात्रै बुझ्न नसकिने धारणा व्यक्त गरे।
उनका अनुसार भूगोल, हावापानी र जनजीवनलाई नजिकबाट अनुभूति गरेपछि मात्रै त्यहाँका वास्तविक समस्या पहिचान गर्न सकिन्छ। ‘तेह्रथुमको नाम कागज वा विकिपिडियामा पढ्न पाइन्छ,’ उनले भने, ‘तर यही माटोमा उभिएर, स्थानीयसँग प्रत्यक्ष संवाद गरेपछि मात्र वास्तविकता बुझिन्छ। संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभवको आधार हुनुपर्छ।’
इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएको उल्लेख गर्दै शाहले अव्यावहारिक र ठूला योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने साना तर प्रभावकारी योजनामा जोड दिनुपर्ने बताए।
तेह्रथुमको कृषि उत्पादन क्षमताको प्रशंसा गर्दै उनले उत्पादन पर्याप्त भए पनि बजार व्यवस्थापन र पहुँच कमजोर रहनु मुख्य चुनौती भएको औंल्याए।
कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको पनि सहभागिता थियो। स्थानीयबाट उठेका सुझाव र मुद्दालाई आगामी नीति तथा योजनामा समेट्ने उद्देश्यले आफूहरू जिल्ला–जिल्ला पुगेर प्रत्यक्ष संवाद गरिरहेको शाहले बताए।
शाह इलाम, ताप्लेजुङ र पाँचथर हुँदै तेह्रथुम आइपुगेका हुन्।






Facebook Comments