
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा नेता हरिबोल गजुरेलसहित सात जनालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीले स्वीकृत उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने, वैकल्पिक प्रस्ताव र स्वतन्त्र प्रचार–प्रसारमा संलग्न हुने कार्य पार्टी अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कारबाही गरेको जनाएको छ।
सिन्धुली–२ मा नेकपाका आधिकारिक उम्मेदवार राजन दाहालविरुद्ध महेश्वर दाहाल बागी उम्मेदवार बनेका छन्। उनलाई नेता गजुरेलले साथ दिएको आरोप पार्टीले लगाएको छ।
कारबाहीमा पर्ने अन्य नेताहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
सिराहा–४ मा धर्मनाथ साह एमालेबाट उम्मेदवार बनेपछि उनीमाथि पनि कारबाही गरिएको पार्टीले जनाएको छ। त्यस्तै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीले दाङ–१ मा पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट हुँदै बागी उम्मेदवारी दिएका थिए।
पार्टीले अनुशासन उल्लंघन गर्ने गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिने चेतावनी समेत दिएको छ। आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ, पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।






Facebook Comments