काठमाडौं । नेकपा एमाले ओखलढुंगाका जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले केही नेता–कार्यकर्ता पार्टीबाट अलग भए पनि संगठन एकताबद्ध र सुदृढ अवस्थामा रहेको दाबी गरेका छन्। उनले लोकप्रिय युवा उम्मेदवार अस्मिता थापाको जित सुनिश्चित रहेको उल्लेख गर्दै कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन्।

जिल्ला कमिटी अध्यक्ष जिबी खड्कासहित केही पदाधिकारी नेकपामा प्रवेश गरेको खबर सार्वजनिक भएपछि सुनुवारले विज्ञप्ति जारी गर्दै एमालेभित्र कुनै कमजोरी नरहेको स्पष्ट पारेका हुन्। उनका अनुसार पार्टीको विजयी यात्रालाई रोक्न भित्र र बाहिरबाट विभिन्न षड्यन्त्र भइरहेका छन्।

सुनुवारले अस्मिता थापा ओखलढुंगा जिल्लामा युवा पुस्तामाझ अत्यन्तै लोकप्रिय र सक्षम उम्मेदवार भएको बताए। उनले पहिलो पटक पार्टीले सशक्त महिला तथा युवा नेतृत्वलाई अघि सारेको भन्दै यसले जनतामा उत्साह थपिएको दाबी गरे।

उनले पार्टीले जिम्मेवारी दिएको अवसरको कदर नगरी केही व्यक्तिहरूको गतिविधि र अभिव्यक्तिले आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्दै सधैं एउटै व्यक्तिले अवसर पाउनुपर्छ भन्ने सोच गलत भएको टिप्पणी गरे। केही व्यक्तिको विचलनले एमालेको चुनावी परिणाममा कुनै असर नपर्ने उनको भनाइ छ।

यता, नेकपामा प्रवेश गरेको भनिएका केही नेताहरूले भने उक्त दाबीको खण्डन गरेका छन्। अखिल नेपाल महिला संघ अध्यक्ष तथा एमाले सचिवालय सदस्य पशुपति गुरुङ, जिल्ला सदस्य चम्पा राई, डिल्लीशेर राई, छवि धमला लगायतले आफूहरूले पार्टी नछाडेको स्पष्ट पारेका छन्।

त्यस्तै जिल्ला कमिटी सदस्य दामोदर धमलाले पनि विज्ञप्ति जारी गर्दै आफू एमाले र सूर्य चिह्नका उम्मेदवारको पक्षमै सक्रिय रहेको बताएका छन्। उनले आफ्नो नामबारे फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्।

अर्का सदस्य झनक कार्कीले पनि सहमतिविपरीत आफ्नो नाम दुरुपयोग गरिएको भन्दै आपत्ति जनाउँदै आफू एमालेकै पक्षमा रहेको बताएका छन्।

यसैगरी नेकपा प्रवेश गरेको भनिएको ३७ जनाको सूचीमा परेका जिल्ला कमिटी लेखा आयोग अध्यक्ष मोहन ढकाल, प्रदेश विभाग सदस्य तथा निर्माण व्यवसायी संगठनका दिनेश श्रेष्ठ र कुमार कार्की (जालन्धर) ले समेत आफूहरू एमालेमै रहेको स्पष्ट पार्दै नाम दुरुपयोग नगर्न चेतावनी दिएका छन्।