काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनपछि किनारा लागेका देउवा समूहका नेताहरू ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि भेला भएर पार्टीको आन्तरिक अवस्था र आगामी रणनीति तय गर्ने तयारीमा छन् ।
भेलाको तयारीको काम निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको छ । देउवा समूहले पुसको विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई पूर्ण रूपमा स्वीकार गरेको छैन । चुनाव आयोगले नयाँ कार्यसमितिलाई आधिकारिकता दिएपछि समूहले सर्वोच्च अदालतमा अन्तरिम आदेश मागेको थियो । तर अदालतले देउवा समूहको पक्षमा आदेश दिएको छैन ।
त्यसअघि कार्यवाहक सभापति खड्काको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिले तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा भावी प्रधानमन्त्रीको रुपमा निर्वाचनमा होमिएका बेला देउवा पक्षको भेला केका लागि ? भन्ने प्रश्न उब्जिएको छ । सभापति थापाको रुपान्तरण र पुस्तान्तरणलाई स्वीकार गर्न नसेकको कांग्रेसको एउटा समुह थापालाई असहयोग गर्न रणनीति बनाउन लागेको हो वा पार्टीलाई एकताबद्ध बनाउन केन्द्रित भएको हो त्यो भने भेलापछि नै थाहा हुनेछ ।






Facebook Comments