काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका गगन कुमार थापा आइतबार सर्लाही जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि आफूले मनोनयन दर्ता गरेको सर्लाही–४ क्षेत्रमा केन्द्रित भएर उनी चुनावी अभियानमा जुट्न लागेका हुन् ।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भोलिपल्ट जिल्ला जाने कार्यक्रम रहेको जानकारी दिए । उनले यसअघि पनि विभिन्न राजनीतिक कार्यक्रमका लागि सर्लाही पुगेको स्मरण गर्दै यसपटक भने उम्मेदवारकै रूपमा जान लागेकाले आफू उत्साहित रहेको बताए ।
“पहिले पनि पटक–पटक सर्लाही गएको छु, तर राजनीतिक कार्यक्रमका लागि मात्रै । यसपटक उम्मेदवार बनेर जाँदैछु, निकै उत्साह छ,” उनले भने ।
थापाले सर्लाही–४ का युवाको भरोसामा आफूले जीवनकै ठूलो राजनीतिक निर्णय लिएको उल्लेख गरे । उनले निर्वाचनका बेला सकेसम्म जिल्ला पुगेर प्रचार–प्रसारमा सघाउन युवाहरूलाई आग्रहसमेत गरे । “तपाईंहरूको विश्वास र साथले म यहाँ आएको छु । तपाईंहरूले घर–घरमा पुगेर सहयोग गर्नुपर्छ,” उनले भने ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा अघि बढाउने निर्णय गरेको थियो । उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव राखेको उक्त निर्णयलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो ।






Facebook Comments