
काठमाडौं । मधेशी समुदायको भाषा, संस्कृति र पहिचानमाथि आपत्तिजनक तथा घृणास्पद अभिव्यक्ति दिएको आरोपमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
अधिवक्ता अनिलकुमार साह र युवराज मुखियासहितका निवेदकहरूले आइतबार आयोगमा निवेदन दर्ता गर्दै बस्नेतले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत मधेशी समुदायप्रति अपमानजनक टिप्पणी गरेको दाबी गरेका हुन् ।
निवेदनमा बस्नेतले मधेशी समुदायको भाषा, संस्कार र परम्पराबारे अवमूल्यन गर्ने तथा विभाजन सिर्जना गर्ने खालका अभिव्यक्ति दिएको उल्लेख छ । यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव खलबल्याउने र समुदायको आत्मसम्मानमा चोट पुग्ने भन्दै कानुनी कारबाहीको माग गरिएको छ ।
निवेदकहरूले नेपालको संविधानले सुनिश्चित गरेको समानता, भेदभावविरुद्धको हक तथा भाषा–संस्कृतिको अधिकार विपरीत बस्नेतका गतिविधि रहेको जिकिर गरेका छन् । साथै निर्वाचन आचारसंहिता–२०७९ ले पनि कुनै जाति, भाषा वा समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्ति निषेध गरेको उल्लेख गर्दै उनीमाथि आचारसंहिता उल्लंघनको कारबाही हुनुपर्ने माग गरिएको छ ।
उजुरीमा बस्नेतको उम्मेदवारी खारेज गर्न, निर्वाचन आचारसंहिता उल्लंघनमा जरिवाना तथा प्रचलित फौजदारी कानुनअनुसार मुद्दा चलाउन र सार्वजनिक रूपमा माफी माग्न लगाउन आयोगसँग आग्रह गरिएको छ ।
निवेदकहरूले नेपालको विविधता र मधेशी समुदायको स्वाभिमानको रक्षा गर्न आयोगले कडा कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।






Facebook Comments