काठमाडौं । नेकपा एमालेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै परिचालन कमिटी घोषणा गरेका छन्।

कार्यक्रममा बोल्दै एमालेका पूर्व महासचिव तथा पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलले यो निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबीचको निर्णायक लडाइँ भएको दाबी गरे। राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।

उनले राष्ट्रहितविरुद्ध उभिने शक्तिहरूलाई जनताले चिन्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान र अखण्डताको रक्षा गर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे। एमालेले सधैं मुलुकको हितलाई प्राथमिकतामा राख्दै आएको दाबी पनि उनले गरे।

“विकास र निर्माणका एजेन्डा एमालेले निरन्तर उठाउँदै आएको छ। अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थालनी भएका धेरै महत्वपूर्ण कामहरू अझै अधुरा छन्। ती काम पूरा गर्न एमालेको जित आवश्यक छ,” पोखरेलले भने। एमाले राजनीतिक स्थायित्वको पक्षमा रहेको भन्दै उनले स्थायित्वबिना देश अघि बढ्न नसक्ने धारणा राखे।

सामाजिक सद्भाव, जातीय, भाषिक, सांस्कृतिक र धार्मिक एकता कायम गर्न पनि एमाले अपरिहार्य रहेको उनको भनाइ थियो।

काठमाडौं–५ मा विगतमा उम्मेदवार हुँदा गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै पोखरेलले थप काम गर्न फेरि जनतामाझ आएको बताए। “म यो क्षेत्रमा तीन दशकदेखि सक्रिय छु। सुख–दुःखमा सँगै बसेको छु। चुनावी परिणाम जस्तो आए पनि म विचलित हुने छैन,” उनले भने।

आफूमाथि लाग्ने गरेका आरोपहरू निराधार रहेको दाबी गर्दै पोखरेलले जीवनभर अवैध, गैरकानुनी र जनविरोधी कुनै काम नगरेको स्पष्ट पारे। एमालेमा आवद्ध कसैले पनि भ्रष्टाचार नगर्ने उनले दाबी गरे।

प्रतिनिधिसभा निर्वाचन प्रदेश र स्थानीय तहसँग समेत जोडिएको उल्लेख गर्दै उनले समग्र राजनीतिक स्थायित्वका लागि एमालेको जित आवश्यक रहेको तर्क गरे।