ओखलढुंगा । २ वर्षअघि नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा तत्कालीन नेता अम्बिरबाबु गुरुङ पक्षले मानसिक दबाब दिएर एकलौटी गर्न खोजेपछि पार्टी छाडेको घोषणा गरेर निष्क्रिय बसेका तत्कालीन अध्यक्ष शंकर कटुवालले चुनावबाटै पुनः सक्रिय हुने घोषणा गरेका छन् ।

हाल काठमाडौंमा बुबाको उपचारका क्रममा रहेका कटुवालले आइतवार विज्ञप्ति जारी गर्दै निर्वाचनमा होमिएका बेला पार्टीमिाथि चौतर्फी हमला भइरहेको अवस्थामा रक्षाकबच बन्नुपर्ने अवस्था आएको बताएका छन् । उनले ओखलढुंगाको एमाले नेतृत्वमा पुगेकाहरुबाट पार्टीमाथि घात भएकाले जिम्मेवार सदस्यका रुपमा टुलुटुल हेरेर बस्न नसकेको प्रष्ट पारेका छन् ।

कटुवालले भनेका छन्–१० औं अधिबेशनको प्राय सबै काम सम्पन्न गरि निर्वाचन समितिलाई हस्तान्तरणपछि मैले प्रमाणीकरण गरेका र गर्न पाउने तथा अध्यक्षको हैसियतले निर्णय गर्न पाउने अधिकार कुन्ठित गर्दै डन्डा चलाउने, विभिन्न आरोप प्रत्यारोपमा उत्रने र विभिन्न दबाब मुलुक आदेश दिदै हैकमवादी प्रवृत्ति देखाइ काम गर्न नसक्ने निरीह अबस्थामा पुर्याउनेजस्ता गलत काम हुन थालेपछि मैले जिल्ला कमिटीबाट राजीनामा दिई निष्क्रिय रहेको थिएँ । देश यसबेला निर्वाचनमा होमिएको, पार्टी र नेतृत्व माथी चौतर्फी हमला भैरहेको अबस्थामा रक्षाकबच बन्नु पर्ने बेलामा ओखलढुंगा एमाले नेतृत्वमा पुगेकाहरुबाट जुन घात भयो पार्टीलाइ, एउटा जिम्मेवार सदस्य भएको नाताले टुलुटुलु हेरेर बस्न सकिएन र म पार्टीकामको जिम्मेवारीमा दत्त –चित्त भयर लाग्ने र पार्टिले दिएको जिम्मेवारी पुरा गर्ने निस्कर्समा पुगेको ब्यहोरा सबैमा निवेदन गर्दछु ।

अम्बिरबाबु नेकपामा गएर उम्मेदवार बनेसँगै उनको पक्षबाट निर्वाचित पदाधिकारीहरु पनि नेकपामा प्रवेश गरेपछि जसको कारण पार्टीबाट निष्क्रिय भएका थिए उनीहरु नै हिडेपछि कटुवालले पार्टीमा सक्रिय हुने घोषणा गरेका हुन् । कटुवालले एमाले ओखलढुंगाको चुनौति सामना गर्न र पार्टीको उम्मेदवार अस्मिता थापालाई जिताउन आफू दत्तचित्त भएर लाग्ने बताएका छन् । ठूलाछाप गाविसका तत्कालीन अध्यक्ष समेत रहेका कटुवाल जिल्लाका लोकप्रिय र इमानदार छबी बनाएका नेता हुन् ।