काठमाडौं । सुनसरी–१ का प्रतिनिधिसभा उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको हो ।
उजुरीमा साम्पाङले प्रचार अभियानका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा संलग्न गराएको दाबी गरिएको छ । बालबालिका ऐन, २०७५ को परिच्छेद २ दफा ७ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेकाले उम्मेदवारको गतिविधि कानुनविपरीत भएको सञ्जालको आरोप छ । उक्त ऐनको उल्लंघन भएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।
धरान नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा स्पष्टीकरण लिन र निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको जनाएको छ । बाल अधिकारजस्तो संवेदनशील विषयमा राजनीतिक दल र उम्मेदवार जिम्मेवार हुनुपर्ने सञ्जालको भनाइ छ ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरी प्राप्त भएको पुष्टि गर्दै प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको जानकारी दिए । समितिले घटनाबारे तथ्य अध्ययन गरेर आवश्यक निर्णय लिने उनले बताए ।
कानुनी प्रावधानअनुसार बालबालिकाको राजनीतिक प्रयोग प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने र गम्भीर अवस्थामा उम्मेदवारी दर्ता नै खारेज हुन सक्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आएको यो उजुरीले चुनावी आचारसंहिता पालनाको विषयलाई फेरि चर्चामा ल्याएको छ । फागुन २१ गते मतदान हुँदैछ ।






Facebook Comments