
काठमाडौँ। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
धर्मराज तिमिल्सिनाले दर्ता गरेको उजुरीमा शाहले नेपाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरेको अभिव्यक्ति निर्वाचन आचारसंहिता उल्लंघन गरेको र घृणा फैलाउने खालको भएको दाबी गरिएको छ।
उजुरी अनुसार, शाहले ओलीलाई ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता आरोप लगाएका थिए। उजुरीकर्ता तिमिल्सिनाले यी अभिव्यक्तिले लोकतान्त्रिक बहसको मर्मविपरीत, मानमर्दन गर्ने, तथ्यहीन आरोप लगाउने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने बताएको छन्।
उक्त उजुरीमा भनिएको छ कि प्रमाण वा अदालतको निर्णयबिना सार्वजनिक रुपमा यस्ता गम्भीर आरोप लगाउनु मानहानि, राजनीतिक प्रतिशोध र मतदाताको मनोवैज्ञानिक प्रभाव पार्ने कार्य हो।
शाहले पुराना दल र नेताको काममा कडा आलोचना गर्ने शैलीले ख्याति पाए पनि हालै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीले उस्तै कटुता देखाएको छ। लोकतान्त्रिक बहसलाई बलियो बनाउने भन्दै ओलीले प्रस्ताव गरेका पारदर्शी, नम्र संवादको सन्दर्भमा शाहका ती अभिव्यक्तिहरू विवादास्पद र घृणा फैलाउने खालका ठहरिएका छन्। यसले संकेत गर्छ–राजनीतिक आलोचना गर्ने शैलीमा समान मापदण्ड अपनाउन चुनौतीपूर्ण रहन्छ।
शाहले सामाजिक सञ्जालमा टिप्पणी गर्नु पूर्व एमाले अध्यक्ष ओलीले सबै राजनीतिक दलका नेताबीच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित बहसको प्रस्ताव राखेका थिए।






Facebook Comments