जनकपुरधाम, मधेश प्रदेश – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सोमबार जनकपुरधाम पुगेका छन्। पूर्वराजाले आफ्नो यात्रा पूर्ण रूपमा धार्मिक र पारिवारिक उद्देश्यको रहेको बताएका छन्।

परिवारसँगै जानकी मन्दिर पुगेका पूर्वराजाले पूजा पाठ गरेका छन्। पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त संवादमा उनले यो भ्रमण केवल पारिवारिक धार्मिक यात्रा भएको स्पष्ट पारे।

जानकी मन्दिरमा पूजा गरेपछि पूर्वराजाले करिब आधा किलोमिटर पैदल यात्रा गर्दै राम मन्दिर पनि पुगे। यात्राको क्रममा विभिन्न हिन्दूवादी संघ-संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाउ’ भन्ने नाराबाजी समेत गरेका थिए।

पूर्वराजा शाहको यो धार्मिक भ्रमणलाई समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।

धार्मिक यात्रा या राजनीतिक संकेत?

भ्रमणका क्रममा समर्थकहरूले ‘राजा आऊ, देश बचाउ’ नारा लगाउन र विभिन्न संघ-संगठनले उत्साह प्रदर्शन गर्नुले राजनीतिक एंगलबाट पनि विश्लेषण गरिने सम्भावना छ। प्रतिनिधिसभा निर्वाचनको माहोलमा राजावादी शक्तिहरू सक्रिय बन्ने रणनीति रूपमा यस भ्रमणलाई पनि हेर्न सकिन्छ।

पूर्वराजाको पैदल यात्रा र सार्वजनिक उपस्थितिले नेपालमा राजावादी पहिचान र समर्थक सक्रियता पुनःसक्रिय हुने संकेत दिन सक्छ, यद्यपि उनले यसलाई धार्मिक यात्रा मात्र भएको स्पष्ट पारेका छन्।