काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सहकर्मीहरुलाई कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र देशको विकास सुनिश्चित गर्न एकतामा आउन आह्वान गरेका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीसँगको एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अब पनि एक्लै एक्लै अघि बढेर नहुने बताए। उनले भने, “राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एकताबद्ध हुनुको विकल्प छैन।”

प्रचण्डले मोहन वैद्य ‘किरण’लाई पनि नेकपामै सामेल हुन आग्रह गरे। उनले राजनीतिमा सिद्धान्त र विचारको खडेरी आएको उल्लेख गर्दै भने, “सोसल मिडियामा स्टन्टबाज भएको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको छ। यसलाई हामी सबैले एकताबद्ध भएर मात्रै रोक्न सक्छौं।”