
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी अभियान तीव्र बनाएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिले मंगलबार पत्रकारसँगको संवादमा विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन तयारी व्यवस्थित रूपमा अघि बढिरहेको जनाएको छ ।
कांग्रेसले देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको र विद्रोह गरेका केही उम्मेदवारहरूले मनोनयन फिर्ता लिइसकेको जानकारी दिएको छ । बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका उम्मेदवारलाई विजयी बनाउन आह्वान जारी रहेको समितिको भनाइ छ ।
पार्टीका अनुसार नयाँ केन्द्रीय कार्यसमितिले सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरूलाई व्यवस्थित ढंगले अघि बढाएको छ । प्रदेशदेखि वडा तहसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठन अन्तिम चरणमा पुगेको र दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

निर्वाचन प्रचारका क्रममा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गरिने र प्रतिस्पर्धा मर्यादित बनाउन पार्टीले आन्तरिक आचारसंहिता लागू गरेको जनाइएको छ । प्रचारका क्रममा नीति, योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्दै व्यक्तिगत जीवनमा प्रवेश नगर्ने र मानव स्वतन्त्रताको सम्मान गर्ने नीति लिइने उल्लेख गरिएको छ ।
कांग्रेसले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति अपनाएको छ । साथै पार्टीमा पुराना नेता–कार्यकर्ता पुनः जोडिने क्रम बढेको र नयाँ प्रवेशको लहर चलेको जनाएको छ । डोल्पाका अन्य पार्टीका उम्मेदवार दिलबहादुर विष्ट र जुनु भण्डारीले उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको पनि जानकारी दिइएको छ ।
राष्ट्रिय सभातर्फ कोशी प्रदेशबाट सुनीलबहादुर थापा निर्विरोध तथा धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका छन् ।
पार्टी सभापति गगनकुमार थापा सहित शीर्ष नेताहरू विभिन्न निर्वाचन क्षेत्रमा मतदातासँग नियमित सम्पर्कमा रहेको र हाल सभापति सर्लाही क्षेत्र नम्बर ४ मा व्यस्त रहेको पनि बताइएको छ । फागुन ७ गते जनकपुरधाममा विशेष सभा आयोजना हुने र केन्द्रीय स्तरका आमसभा क्रमशः अन्य क्षेत्रमा पनि हुनेछन् ।
कांग्रेसले केही समयपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश हुनेछन् । साथै प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गरिने र दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा नियमित पत्रकार संवाद कार्यक्रम हुने जानकारी दिइएको छ ।
नेपाली कांग्रेसले सुधार, एकता र विकासको प्रतिबद्धतासहित चुनावमा जुट्न र आफ्ना उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन सबैलाई आह्वान गरेको छ ।






Facebook Comments