
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जनकपुरमा आयोजित आमसभामा जाँदै गर्दा भिडको धकेलाइमा परेर घाइते भएको पाइएको छ । खुट्टामा लागेको चोट समयमै गम्भीर नदेखिए पनि पछि संक्रमण बढ्दै गएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको हो ।
गत माघ ५ गते रास्वपाका प्रधानमन्त्री उम्मेदवार बालेन साहसँगै जनकपुर पुगेका रवि आमसभास्थलतर्फ जाँदै गर्दा ठूलो भिडले उनलाई चारैतिरबाट पछ्याइरहेको थियो । सोही क्रममा धकेलिँदै अगाडि बढ्दा उनले अगाडि रहेको इँट्टाको होचो पर्खाल देख्न सकेनन् र पर्खालको धारमा उनको देब्रे खुट्टाको घुँडाभन्दा तलको भाग ठोक्किएको हो ।

ठोक्किएपछि तत्काल रगत नबगे पनि खुट्टा निलो भएर सुन्निएको थियो । चोट लागे पनि त्यसबेला त्यसलाई सामान्य ठानेर रविले कार्यक्रमलाई निरन्तरता दिए । जनकपुरको सभा सकेर उनी पर्सा पुगे र भोलिपल्ट अदालतको पेसीमा समेत उपस्थित भए । त्यसपछि चितवनमा सामान्य स्वास्थ्य परीक्षण गराउँदा एक्स–रेमा ठूलो समस्या नदेखिएपछि सामान्य औषधि लिएर नियमित काममै फर्किएका थिए ।
तर, केही दिनपछि दुखाइ झन् बढ्दै गयो । खुट्टा सुन्निने र असहजता बढेपछि अन्ततः चिकित्सकको सल्लाहअनुसार उनलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना गरिएको हो ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको खुट्टाको घाउमा ‘सेलुलाइटिस’ संक्रमण देखिएको छ । यो छालाको गहिरो तहमा हुने ब्याक्टेरियल संक्रमण हो, जुन सामान्य चोट वा घाउबाट ब्याक्टेरिया प्रवेश गर्दा फैलिन्छ । समयमै उपचार नगरे गम्भीर जटिलता निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन् ।
हाल रवि हाडजोर्नी विभागमा उपचाररत छन् । नशाबाट एन्टिबायोटिक्स दिइरहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसबीच सामाजिक सञ्जालमा रविको खुट्टा पूरै प्लास्टर गरिएको तस्बिरहरू भाइरल भए पनि ती तस्बिर एआई–निर्मित भएको अस्पतालले स्पष्ट पारेको छ ।






Facebook Comments