काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शीतलनिवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच करिब आधा घण्टा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पछिल्ला घटनाक्रम तथा निर्वाचन तयारीका विषयमा कुराकानी भएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सरकार र संवैधानिक निकायहरूको समन्वय, सुरक्षा अवस्था तथा चुनावी व्यवस्थापनबारे पनि छलफल केन्द्रित रहेको बताइएको छ ।

पछिल्लो समय देशमा चुनावी माहोल तातिँदै जाँदा शीर्ष नेतृत्वबीचको यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटलाई राजनीतिक तथा प्रशासनिक तयारी सुदृढ गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ ।