
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई जिम्मेवारीअनुसार परिचालन गर्ने रणनीति अघि सारेको छ । ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अवलम्बन गर्दै पार्टीले चुनावको अन्तिम ३० दिन देशभर संगठन केन्द्रित परिचालन गर्ने तयारी गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिले तयार पारेको निर्देशिकामा माघ २१ देखि फागुन २१ सम्म पार्टीका विभिन्न तहका पदाधिकारी, सदस्य र कार्यकर्तालाई आफ्नै कार्यक्षेत्रमा अनिवार्य रूपमा खटिने व्यवस्था गरिएको छ ।
केन्द्रीय कार्यालयमा आयोजित प्रदेशस्तरीय विशेष आन्तरिक छलफलमा संयोजक शर्माले भने, “कांग्रेसका सबै जिम्मेवार साथीहरू आफ्नो क्षेत्रमा सक्रिय रूपमा खटिनुहुन्छ । यो नीति माघ २१ गतेदेखि लागू हुन्छ ।”
उनका अनुसार निर्वाचनको अन्तिम चरणलाई प्रभावकारी बनाउन परिचालन निर्देशिकामा स्पष्ट जिम्मेवारी बाँडफाँट गरिएको छ । हालसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशसँग छलफल सकिएको छ भने गण्डकी प्रदेशसँग छलफल जारी छ ।
छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान तथा पूर्व पदाधिकारी, जिल्ला सम्पर्क समितिका सभापति, काठमाडौँमा रहेका पेशाकर्मी, शुभेच्छुक र युवा कार्यकर्ता सहभागी भइरहेका छन् ।
यस्तै, कांग्रेसले चुनावी तयारीलाई व्यवस्थित र परिणाममुखी बनाउन देशभर १२ वटा विषयगत समिति गठन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । निर्वाचन व्यवस्थापनदेखि प्रचार–प्रसार, स्थानीय तह समन्वय, बौद्धिक तथा सामाजिक क्षेत्र, धार्मिक संघसंस्था, निजी क्षेत्र, युवा अभियान, पूर्वआप्रवासी, प्रशासन समन्वय र अनुगमनसम्मका समिति गठन गर्न परिपत्र जारी गरिएको छ ।
गठन भएका समितिहरूको विवरण केन्द्रमा पठाउनसमेत निर्देशन दिइएको छ ।
निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले संगठन, जनसम्पर्क र प्रचारलाई एकैसाथ सुदृढ बनाउने उद्देश्यसहित व्यापक संरचनागत तयारी थालेको देखिएको छ । यसलाई पार्टीको चुनावी ‘फुल मोड परिचालन’ रणनीतिको रूपमा हेरिएको छ ।






Facebook Comments