
काठमाडौं । काठमाडौं उपत्यकासहित तराई–मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ, जसका कारण दृश्यता कम भई हवाई उडान प्रभावित भएका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ भने भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलहरूमा बिहानका उडानहरू ढिला भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानी र चिसो मौसमका कारण वाष्पीकरण हुँदा पानीका साना कण जमिन नजिकै रोकिएर हुस्सुकुहिरो बनेको हो। मौसमविदका अनुसार यो अवस्था दिउँसोदेखि क्रमशः हट्ने सम्भावना छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।






Facebook Comments