
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरूको सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) तय गरिएको भेटघाट कार्यक्रम रद्द भएको हो ।
कांग्रेसले जारी गरेको सूचनामा ‘विशेष कारण’ ले कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, “डेलिगेसन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।”
प्रधानन्यायाधीश राउतको सचिवालयले फोनमार्फत आजका लागि तय भएको भेटघाट तत्कालका लागि स्थगित भएको जानकारी दिएको थियो ।
यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बजे सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ जना पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छन्, तर सर्वोच्च अदालतले अहिलेसम्म उक्त रिटको सुनुवाइ सुरु गरेको छैन ।
मुलुक प्रतिनिधिसभा निर्वाचनमा होमिएको बेला कांग्रेसको देउवा पक्ष संसद् पुनःस्थापनाको मागमा सक्रिय देखिनु राजनीतिक रूपमा अर्थपूर्ण छ। एकातिर निर्वाचन आयोगले चुनावी तयारी तीव्र बनाइरहेका छन् र दल–नेताहरू गाउँगाउँमा मत माग्न पुगिरहेका छन् । अर्कोतिर देउवा पक्ष भने विघटित संसद् पुनःस्थापनाको मुद्दालाई जीवित राख्दै कानुनी र राजनीतिक दबाब सिर्जना गर्न खोजिरहेको छ ।
यसको मुख्य कारण सत्ता र शक्ति सन्तुलनसँग जोडिएको छ । यदि संसद् पुनःस्थापित भएमा वर्तमान चुनावी प्रक्रियामा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ र राजनीतिक समीकरण नै बदलिन सक्छ । साथै, देउवा पक्ष संसद् विघटनलाई असंवैधानिक ठहर गराउन चाहन्छ, ताकि आफ्नो पक्षलाई लोकतन्त्र र संविधानको रक्षकको रूपमा स्थापित गर्न सकोस् ।
अर्को कारण पार्टीभित्रको शक्ति राजनीतिसँग पनि जोडिएको छ । चुनावमा होमिनुअघि संसद् पुनःस्थापनाको मुद्दा उठाएर देउवा पक्षले आफ्ना समर्थक र कार्यकर्तालाई वैचारिक रूपमा एकताबद्ध गर्ने र राजनीतिक मुद्दामा आफूलाई अग्रपंक्तिमा देखाउने रणनीति लिएको देखिन्छ । त्यसैले निर्वाचनको माहोल हुँदाहुँदै पनि संसद् पुनःस्थापनाको मागमा उनीहरूको सक्रियता कम भएको छैन ।






Facebook Comments