काठमाडौं । नेपाल प्रहरीले रातको समयमा गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार राती प्रहरीले काठमाडौँको मूलपानीमा गोली हानेर मुख्य योजनाकारसहितलार्ई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।

पक्राउ परेका सवै आपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सि चलाउने र राती लुटपाटमा संलग्न हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए । पक्राउ परेका गिरोहहरु जनेजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेका देखिएको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजि कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ । गरगहना र नगद लुटपाटका घटनामा हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएको र जाहेरी दरखास्त प्राप्त भएको प्रहरीले जनाएको छ । 

त्यस्तै काठमाडौं प्रहरीले ३३ किलो सुन प्रकरणमा सनम शाक्यको अपहरण शरीर बन्धक तथा ज्यान सम्बन्धी कसुरका फरार प्रतिवादी सुरेन्द्र गौतमलाई पक्राउ गरिएको जनाएको छ ।