काठमाडौँ ।गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण सुनिश्चित गर्ने सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्।
निर्वाचन तयारीबारे जानकारी लिन आज निर्वाचन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्ति सुरक्षामा विघ्न पुर्याउने जो कोही पनि कारबाहीबाट बच्न नपाउने स्पष्ट पारे। मतदाता, उम्मेदवार, राजनीतिक दल, निर्वाचन कर्मचारी र सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल गरी सुरक्षा योजना बनाएको उनले जानकारी दिए।
“आपराधिक वा निर्वाचनविरोधी गतिविधिमा शून्य सहनशीलताको नीति लागू गरिएको छ,” उनले भने।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले दिएको सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै आयोगले आवश्यक व्यवस्थापकीय तयारी पूरा गरेको जानकारी दिएका छन्। उनले संविधान, निर्वाचन कानुन र आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि प्रति आयोग कडा रहने र दण्डहीनता स्वीकार्य नहुने पनि स्पष्ट पारे।
छलफलमा निर्वाचन आयुक्तहरू सगुनशमशेर जबरा, डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित उच्चपदस्थ अधिकारीहरू सहभागी थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शान्तिसुरक्षा र समय व्यवस्थापनसमेतको तयारीबारे छलफल भएको जानकारी दिए।






Facebook Comments