काठमाडौँ । शहीद दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक लैनचौरमा पनि विशेष समारोह आयोजना गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसअघि प्रभातफेरि आयोजना गरिएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।
सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको थियो । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको थियो ।






Facebook Comments