काठमाडौं । अर्थ मन्त्रालयले आगामी निर्वाचनको तयारी तथा सञ्चालनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको जनाएको छ । मन्त्रालयका अनुसार यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।

निर्वाचन आयोगका लागि मात्रै १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो भने २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्वीकृत गरिएको छ । यससँगै आयोगलाई कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति उपलब्ध गराइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा दिइएको आयोगलाई हालसम्म ६ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी भइसकेको छ ।

निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो भने नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ स्वीकृत गरिएको छ ।

यस्तै, गृह मन्त्रालय र मातहतका निकायका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ । साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ ।