काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान कांग्रेसले विगतका सकारात्मक मूल्य–मान्यता र परम्परा जोगाउँदै कमजोर र गलत अभ्यास भने पूर्ण रूपमा त्यागेको बताएका छन् । शुक्रबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले कांग्रेस इतिहासप्रति गर्व गर्ने पार्टी भएको उल्लेख गर्दै अब नयाँ समयको मागअनुसार अघि बढ्ने बताए ।
थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । ‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने भए हाम्रो स्वास्थ्य खराब हुन्थ्यो । हाम्रा भगवान्, मन्दिर, मस्जित खराब हुनुपर्ने । हाम्रा पितापुर्खा खराब हुनुपर्ने । बालबालिका मात्रै राम्रा हुनुपर्ने,’ सभापति थापाले भने, ‘त्यसो होइन ।
उनले विगतका गल्ती दोहोर्याउन नदिने प्रतिबद्धता जनाउँदै पार्टीसँग स्पष्ट पाँच वर्षे योजना र देश बदल्ने सोच रहेको दाबी गरे । भ्रष्टाचार र कुशासन अन्त्य गरी वर्षौँदेखि अधुरा रहेका काम पूरा गर्ने उनको भनाइ थियो ।
थापाले आफू अवसरको खोजीमा सर्लाही आएको नभई योजनाबद्ध रूपमा मधेश आएको स्पष्ट पारे । आफू सर्लाही नआएसम्म एमालेको उम्मेदवार नै तय नभएको र अन्य दलले पनि बाहिरबाट उम्मेदवार ल्याएको भन्दै उनले आफ्नो उम्मेदवारीलाई स्वाभाविक रहेको तर्क गरे ।
काठमाडौं–४ का मतदाताप्रति आफू सधैँ ऋणी रहने बताउँदै उनले अब सिङ्गो देशको प्रतिनिधित्व गर्ने उद्देश्यले मधेशमा सक्रिय भएको बताए । विगतदेखि नै मधेशका मुद्दामा बोल्दै र लड्दै आएको दाबी समेत उनले गरे ।
उनले भने, ‘म सर्लाही नआएसम्म एमालेको उम्मेदवार नै थिएन। रास्वपाले कुनै उम्मेदवार नै नपाएर बाहिरको मान्छे ल्याएर उम्मेदवार बनाएको छ। यस पटक कांग्रेस मात्रै होइन, नयाँ पुरानो सबै पार्टीहरू विशेष सभापति भइसकेपछि विद्रोह गरेर आएको भन्दै काठमाडौंबाटै उम्मेदवार बन्नुपर्छ भन्ने थियो।’






Facebook Comments