काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपरेको समूहले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन्। रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदम केही शक्तिहरूलाई मन नपरेको दाबी गरे।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध तथा सामाजिक विभेद अन्त्यका लागि चलाएको अभियान स्मरण गर्दै, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूसँग सन्तुलित सम्बन्ध बनाउँदै मुलुकको समृद्धि बढाउने क्रममा त्यही अभियान मन नपरेको समूह सक्रिय भई सरकार ढलेको बताए। उनले अधुरा रहेका सुशासन र समृद्धिका अभियान पूरा गर्न जनताको र कार्यकर्ताको दृढता आवश्यक रहेकोले पुनः जनताको बीचमा फर्किने संकेत गरे।
आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण खुलाउँदै प्रचण्डले भने कि यो केवल निर्वाचन क्षेत्र फेर्ने कुरा होइन। रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाट नेपालमा गणतन्त्रको घोषणा भएको स्मरण गर्दै उनले महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार दिने नीति लागू गर्ने विरासत सम्मान गर्न आफू त्यहाँ जान लागेको बताए।
प्रचण्डले भोट माग्न मात्र होइन, विकास, उत्पादन र रोजगारीको नयाँ मोडेल खडा गरेर रुकुम पूर्वलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाए। उनले जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौं युवालाई रोजगारी दिने योजना रहेको उल्लेख गरे।
उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव भए नेकपा पहिलो पार्टी बन्नसक्ने बताए।
उनले भने, ‘देशमा निर्वाचनको माहोलमा बन्दै गइरहेको छ। एकसरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको थिए। नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ नयाँ भन्नेको हावा चलेकै छ। तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना छ।’






Facebook Comments