काठमाडौँ ।माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको यो व्रत वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा श्रद्धापूर्वक पालन गर्दै आएका थिए ।

व्रत अवधिभर भक्तजनले नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा आधारित स्वस्थानी कथा वाचन तथा श्रवण गरेका छन् । आज यस कथाको पनि औपचारिक समापन गरिँदैछ ।

व्रत समापनका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई भगवतीलाई अर्घ्य दिने परम्परा छ । चढाइएका प्रसादमध्ये केही आठ–आठ पति, छोरा वा मित छोरालाई वितरण गरिन्छ भने बाँकी पवित्र नदीमा विसर्जन गरिन्छ ।

बर्तालुले सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने, देवीको माहात्म्य सुन्ने–सुनाउने चलन छ । यसो गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । स्वस्थानीको शाब्दिक अर्थ ‘आफ्नो स्थानकी देवी’ भन्ने बुझिन्छ । उत्तरायणको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिलाई स्वस्थानी व्रतका लागि शुभ मानिन्छ ।

स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा आसीन, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ । उहाँका चार हातमध्ये पहिलोमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख व्रतकथामा पाइन्छ ।

विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने तथा इच्छित वर–वधू प्राप्त हुने विश्वास प्रचलित छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथासमेत स्वस्थानीमा उल्लेख गरिएको छ । नाग–नागिनीको पुनर्मिलन तथा गोमा ब्राह्मणीले पुत्रवियोगबाट मुक्ति पाएको कथा पनि यसैसँग जोडिएका छन् ।