काठमाडौँ ।नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा कुहिरो रहन सक्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत अन्य हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ । अन्य भागमा मौसम प्रायः सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल रहनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा कुहिरोका कारण बिहानको समयमा जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।