काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १५ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १८ निर्वाचन क्षेत्रका मतपत्र छपाइको काम पूरा भइसकेको छ ।

मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा भइरहेको छ । आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भइसकेका छन् । त्यसैगरी दैलेख क्षेत्र नं १ र २, सुर्खेत क्षेत्र नं १ र २, रुकुम पश्चिम, बाजुरा, अछाम क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ तथा सुनसरी क्षेत्र नं १ का मतपत्र पनि छापिइसकेका छन् ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । यस्तै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।