
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई घुस रकम र स्रोत नखुलेको नगदसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिसाल रहेका छन्।
कुरियर कम्पनीमार्फत विदेश पठाइने विभिन्न सामानको निकासी प्रक्रिया सहज गरिदिने नाममा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना र उजुरी आयोगमा परेपछि अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही आधारमा आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
आयोगका अनुसार कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रुपैयाँ तथा स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ बरामद गरिएको छ। साथै, उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ फेला परेको छ। यसरी पुडासैनीबाट मात्रै जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ।
त्यस्तै, नायब सुब्बा छविप्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।
यसका अतिरिक्त उनीहरूको साथबाट स्रोत नखुलेको थप नगदसमेत बरामद भई कुल २ लाख ६८ हजार २८८ रुपैयाँ संकलन भएको छ। साथै विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत फेला परेको आयोगले जानकारी दिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ। भन्सारजस्तो संवेदनशील निकायमै सेवाग्राहीसँग अवैध रकम असुली हुने गरेको घटना सार्वजनिक भएपछि सेवा प्रवाहको पारदर्शिता र भ्रष्टाचार नियन्त्रणबारे पुनः गम्भीर प्रश्न उठेको छ।
आयोगले घटनाबारे विस्तृत छानबिन अघि बढाएको जनाएको छ।






Facebook Comments