
विराटनगर, २८ माघः कोशी प्रदेशसभाको आज बसेको बैठकमा थारु आयोग, नेपालको सातौँ वर्षिक प्रतिवेदन, २०८१/८२ सभामा पेस भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पेस गर्नुभएको सो प्रतिवेदन सभाले स्वीकृति गरेको छ ।
स्वीकृत प्रतिवेदनलाई सभामुख अम्बरबहादुर विष्टले सामाजिक विकास समितिमा पठाउने घोषणा गर्नुभएको थियो । विशेष समय विशेष समयमा नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री केदार कार्की र नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका तर्फबाट सपना दर्जीले सरकारलाई जनताको भावनाअनुसार काम गर्न सुझाव दिनुभएको थियो ।
उहाँहरूले सडक सदनभन्दा पनि बलियो भएकाले सरकारले सडकको आवाज सुन्नुपर्ने धारणा राख्नुभएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम १३३ बमोजिम विषयगत समितिका सदस्यहरू मनोनय भएको सभामुख विष्टले जानकारी दिनुभएको थियो ।
शून्य समय कोशी प्रदेशसभाका सदस्य मीन श्रेष्ठ, सिर्जना राई, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत र सुनिताकुमारी गच्छदार चौधरीले विविध विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । अर्को बैठक फागुन १ गते दिउँसो १ बजे बस्नेछ ।







Facebook Comments