नेकपा संयुक्तले समग्र अर्थतन्त्रलाई उद्यमशील बनाउने लक्ष्यसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्षचन्द्रदेव जोशी, कार्यवाहक अध्यक्षघनश्याम भूसाललगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वावलम्बी आर्थिक नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रलाई उद्यमशील बनाउँदै निजी लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न सहज आर्थिक वातावरण निर्माण गरिने उल्लेख छ। साथै आर्थिक र मौद्रिक नीतिबीच रहेका विरोधाभास अन्त्य गरी मौद्रिक नीतिलाई आर्थिक नीतिको सहायक बनाइने योजना अघि सारिएको छ। बैंकिङ कारोबारमा उत्पन्न हुने विवाद समाधानका लागि सरल र प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको पनि दस्तावेजमा उल्लेख गरिएको छ।

सार्वजनिक पदमा रहेका राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धसहित शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने माग पनि घोषणापत्रमा समेटिएको छ। विषय विज्ञहरूको प्रतिस्पर्धाबाटअख्तियार दुरुपयोग अनुसन्धान आयोगगठन हुने व्यवस्था गर्नुपर्ने र भ्रष्टाचारसम्बन्धी मुद्दामा तीनै तहका सरकारका नीतिगत निर्णयहरूको परीक्षण हुने प्रबन्ध गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, संसदमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने तर सांसदहरू मन्त्री बन्न नपाउने र संसद बाहिरबाट मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ। प्रदेश तहलाई प्रभावकारी बनाउन आवश्यक संवैधानिक तथा कानुनी सुधार गर्नुपर्ने, एक व्यक्ति बढीमा दुई पटक मात्र प्रधानमन्त्री र चार पटकसम्म मन्त्री वा सांसद हुन पाउने सीमा निर्धारण गर्नुपर्ने माग पनि गरिएको छ।

यसैगरी, भ्रष्टाचार प्रमाणित भएमा पालिका परिषद्को दुई तिहाइ बहुमतबाट पदाधिकारीलाई हटाउन सकिने तथा सम्बन्धित दलले पनि प्रत्याह्वान गर्न सक्ने व्यवस्था गर्नुपर्ने विषयमा समेत पार्टीले जोड दिएको छ।