काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्।

हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी हुन्।

बुधबार जारी विज्ञप्तिमा उनले पार्टीभित्र इमानदार र प्रतिबद्ध व्यक्तिहरूको उचित मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन्। आर्थिक चलखेलबाट पार्टीका निर्णयहरू प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै उनले यस्तो परिस्थितिमा आफू बस्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेकी छन्।

उनले विज्ञप्तिमा भनेकी छन्, “आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको अवस्थाले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।”

यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी छोडेका घटनाहरू सार्वजनिक भएका थिए। पछिल्लो राजीनामाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि फेरि सतहमा आएको देखिन्छ।

स्वच्छ छवि, नयाँ सोच र पारदर्शिताको नारा लिएर उदाएको भनिएको रास्वपामा समेत पटक–पटक आर्थिक अनियमितता र निर्णय प्रक्रियामा अपारदर्शिताको आरोप उठ्नुले गम्भीर प्रश्न खडा गरेको छ। ‘नयाँ’ र ‘पारदर्शी’ राजनीतिक संस्कारको दाबी गर्ने दलमै बेथिति मौलाउन थालेको हो कि भन्ने आशंका बढ्दै गएको छ। यदि आरोपहरू सत्य हुन् भने, यो केवल एउटा व्यक्तिको असन्तुष्टि मात्र नभई पार्टीको वैचारिक विश्वसनीयतामाथि चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था बनेको छ।