
काठमाडौं ।बंगलादेश दूतावास, काठमाण्डौले महान् शहीद दिवस तथाअन्तर्राष्ट्रिय मातृभाषा दिवस२०२६ श्रद्धा र उत्साहका साथ मनाएको छ।
दूतावास परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा छलफल सत्र र सांस्कृतिक प्रस्तुति समावेश थिए, जसले विश्वका विभिन्न भागको भाषिक विविधता र सांस्कृतिक सम्पदा झल्काएका थिए।
कार्यक्रममा काठमाडौंस्थित विभिन्न दूतावास तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुख र कूटनीतिज्ञ,सार्क सचिवालयका प्रतिनिधि,इसिमोडका अधिकारी, भाषाविद्, प्राज्ञ, व्यवसायी तथा नेपालस्थित बंगलादेशी समुदायको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल–बंगलादेश मैत्री संघ, नेपाल उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमका क्रममा नेपालस्थित कूटनीतिक समुदायले दूतावास परिसरमा रहेको शहीद मिनारमा पुष्पहार अर्पण गरेका थिए। सो अवसरमा बंगलादेशका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र राज्यमन्त्रीका सन्देश दूतावासका अधिकारीहरूले वाचन गरेका थिए। साथैयुनेस्कोमहासम्मेलनका अध्यक्षको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो।

स्वागत मन्तव्यका क्रममा नेपालका लागि बंगलादेशका राजदूतले सन् १९५२ मा बङ्गला भाषाको सम्मानका लागि ज्यान दिएका भाषा शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले मातृभाषा संरक्षण र प्रवर्द्धनको आवश्यकता औंल्याउँदै बहुभाषिक मातृभाषामा आधारित शिक्षाले गुणस्तरीय शिक्षा र समग्र विकासमा योगदान पुर्याउने बताए। भाषा मानिसलाई जोड्ने शक्तिशाली माध्यम भएको उल्लेख गर्दै उनले विविधताबीच एकताको सन्देश दिएका थिए।

यस वर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको नारा “बहुभाषिक शिक्षामा युवाको आवाज” को प्रशंसा गर्दै उनले भाषिक विविधता प्रवर्द्धनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए। नेपाल तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै भाषिक विविधता, सांस्कृतिक संरक्षण र समावेशी विकासका लागि बंगलादेश प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपालस्थित युनेस्को प्रमुखले विशेष अतिथिका रूपमा मन्तव्य दिएका थिए। फिनल्यान्ड, श्रीलंका, मलेसिया र रूसका राजदूत तथायुनिसेफका उप–प्रतिनिधिले आ–आफ्नो मातृभाषामा सम्बोधन गरेका थिए। साथै नेपालका संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र भाषा आयोगका कार्यवाहक अध्यक्षले पनि मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वभर मनाउन बंगलादेशले खेलेको भूमिकाको प्रशंसा गर्दै मातृभाषामा आधारित बहुभाषिक शिक्षाको महत्व औंल्याए।
छलफल सत्रपछि बहुसांस्कृतिक सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली, नेवारी, तामाङ र बङ्गला भाषामा गीत प्रस्तुत गरियो भने थारु समुदायको परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो। काठमाडौँको एक स्थानीय विद्यालयसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो। नेपालस्थित बंगलादेशी समुदायका गायकहरूले पनि प्रस्तुति दिएका थिए।
कार्यक्रमको अन्त्यमा पाहुनाहरूले बंगलादेशी परिकारसहितको भोजन ग्रहण गरेका थिए।
यसअघि फेब्रुअरी २१ को पहिलो चरणको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। त्यसपछि दूतावासस्थित शहीद मिनारमा पुष्पहार अर्पण गर्न प्रभातफेरी आयोजना गरिएको थियो। अन्त्यमा भाषा शहीदहरूको सम्झनामा विशेष प्रार्थना गरिएको थियो।






Facebook Comments