सर्लाही।प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नम्बर–४ मा चुनावी गतिविधि तीव्र बनेको छ। यही क्रममागगन कुमार थापाले क्षेत्रका मतदातासामु विकास र सामाजिक रूपान्तरणका विभिन्न योजनासहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थापाले जनतासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर अभियान अघि सारेका हुन्।
थापाले सर्लाही–४ का गाउँबस्ती पुगेर नागरिकका समस्या, सम्भावना र आवश्यकताको अध्ययन गरेको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको बताएका छन्। उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर दीर्घकालीन विकास योजना कार्यान्वयन गरिनेछ।
पूर्वाधार विकास पहिलो प्राथमिकता
थापाका अनुसार क्षेत्रका धेरै ठाउँमा सडक, पुल, सिँचाइ, ढल निकास र खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन। कतिपय ठाउँमा वर्षौंदेखि पुल अधुरै रहेको, कतै बाढी र डुबानले जनजीवन प्रभावित भएको तथा कृषिका लागि सिँचाइ अभाव रहेको अवस्था भेटिएको उनले बताएका छन्।
यी समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिने उनले बताए।
शिक्षा सुधारका विशेष कार्यक्रम
घोषित योजनाअनुसार सर्लाही–४ मा शिक्षा क्षेत्र सुधारका लागि विशेष अभियान सञ्चालन गरिनेछ। विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षालाई सुदृढ बनाउने, प्राविधिक शिक्षा विस्तार गर्ने र विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।
गरिब, दलित तथा पिछडिएका समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा मातृभाषामा शिक्षा सहज बनाउने योजना पनि अघि सारिएको छ। उच्च शिक्षाका लागि प्राविधिक विद्यालय तथा क्याम्पस स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्य सेवा घरदैलोमै
स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहमा चिकित्सकसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ। मोबाइल क्लिनिकमार्फत दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याइने तथा सर्पदंश र कालाजारजस्ता रोगको उपचार सहज बनाइने उल्लेख गरिएको छ।
कुपोषण नियन्त्रण, स्वास्थ्य सचेतना र पोषण कार्यक्रमलाई पनि प्राथमिकता दिइने थापाको भनाइ छ।
किसान लक्षित कार्यक्रम
कृषि क्षेत्र सर्लाही–४ को मुख्य आधार भएकाले किसानका समस्या समाधानलाई विशेष प्राथमिकता दिइएको छ। मल, बीउ र बजारको सुनिश्चितता, सिँचाइ विस्तार, चिस्यान भण्डार निर्माण र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने योजना उल्लेख गरिएको छ।
फलफूल, तरकारी तथा मत्स्यपालनको प्रवर्द्धन गरी किसानको आय बढाउने कार्यक्रम पनि अघि सारिएको छ।
बाढी नियन्त्रण र वातावरण संरक्षण
यस क्षेत्रमा बाढी र डुबानको समस्या दोहोरिरहने भएकाले नदी नियन्त्रण, तटबन्ध निर्माण, जल संरक्षण र वृक्षरोपण अभियान सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ।
नदी कटान रोक्ने र दीर्घकालीन समाधान खोज्ने कामलाई प्राथमिकतामा राखिएको छ।
युवाका लागि रोजगारी अभियान
युवालाई विदेश पलायन हुनुपर्ने अवस्था घटाउन सीप विकास कार्यक्रम, रोजगार सूचना केन्द्र र उद्यम प्रवर्द्धनका योजना अघि सारिएका छन्।
महिला, दलित र युवालाई सहुलियत ऋणमार्फत व्यवसाय सुरु गर्न सहयोग गर्ने योजना पनि समेटिएको छ।
महिला र दलित सशक्तिकरण
महिलाका लागि उद्यम कर्जा, घरेलु हिंसा तथा बालविवाह विरुद्ध अभियान र कानुनी सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
दलित समुदायका लागि शिक्षा, रोजगारी र आवासका अवसर सिर्जना गर्न विशेष कार्यक्रम ल्याइने पनि उल्लेख गरिएको छ।
सीमा क्षेत्र विकास
भारतसँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षा र विकासका लागि सडक, विद्युत्, सिँचाइ तथा बजार व्यवस्थापनमा विशेष योजना ल्याइने जनाइएको छ। सीमाक्षेत्रमा प्रकाश व्यवस्था तथा सेवा विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
जनतासँग प्रत्यक्ष सम्पर्क
थापाले मतदाताका समस्या सुन्न र समाधान गर्न क्षेत्रमै ‘जनता संवाद कार्यालय’ स्थापना गर्ने बताएका छन्। काठमाडौंमा पनि समन्वयका लागि छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।
उनले आफू जनतामाझ रहेर सेवा गर्ने प्रतिबद्धता जनाउँदै विकास, सुशासन र अवसर सिर्जना नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन्।






Facebook Comments