
काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले आफ्नो प्रबिद्धता पत्र सार्वजनिक गरेका छन् । पोखरेलले १६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै विकास, सुशासन र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । ‘सूर्य’ चिन्हका उम्मेदवार पोखरेलले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, वातावरण तथा रोजगारी सृजनाका योजनाहरू अघि सारेका छन् ।
उनले ‘पहिला देश’को अवधारणाअनुसार राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनअधिकारको संरक्षण आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आवश्यक ऐन–कानुन एक वर्षभित्र निर्माण र अद्यावधिक गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
शिक्षा र युवा लक्षित कार्यक्रम
पोखरेलले काठमाडौँ–५ लाई शिक्षा केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । सामुदायिक तथा गुठी विद्यालयहरूको पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा आधुनिक प्रविधियुक्त प्राविधिक महाविद्यालय स्थापना गर्ने उनको प्रतिबद्धता छ। शिक्षालाई सिप र रोजगारीसँग जोड्दै युवालाई स्वरोजगार बनाउन विशेष कार्यक्रम ल्याइने उनले बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा सुपर स्पेसियालिटी सेवा विस्तार
स्वास्थ्य क्षेत्रलाई जनताको सहज पहुँचमा पु¥याउने उद्देश्यसहित उनले काठमाडौँ–५ भित्र रहेका प्रमुख सरकारी अस्पतालहरू— त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पताल —लाई थप स्रोत–साधन उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरको सुपर स्पेसियालिटी सेवामा विकास गर्ने योजना अघि सारेका छन् ।
त्यस्तै, टोखा चण्डेश्वरी प्रदेश अस्पतालको स्तरोन्नति तथा सबै वडामा आधारभूत प्रयोगशालासहित ‘सहरी स्वास्थ्य सेवा केन्द्र’ स्थापना गर्ने घोषणा गरिएको छ ।
ज्येष्ठ नागरिक र सामाजिक समावेशिता
काठमाडौँ–५ बाट निर्वाचित नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी को स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ निर्माण गरी दिवा सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ । साथै, भिन्न रूपमा सक्षम नागरिकका लागि सुविधासम्पन्न पुनःस्थापना केन्द्र स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
पर्यटन र सांस्कृतिक सम्पदा प्रवद्र्धन
पर्यटन प्रवद्र्धनतर्फ उनले लिच्छविकालीन राजधानी हाँडीगाउँ, सांस्कृतिक क्षेत्र टोखा र धार्मिक गन्तव्य बुढानीलकण्ठ मन्दिर लाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । टोखाको प्रसिद्ध चाकुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने र तामाङ तथा नेवार होमस्टे प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
पूर्वाधार, पानी र यातायात सुधार
शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा वर्षातको पानी सङ्कलन गरी पुनर्भरण पोखरी निर्माण गर्ने, मेलम्चीले नसमेटेका क्षेत्रमा स्थानीय स्रोतमार्फत खानेपानी विस्तार गर्ने तथा मेट्रो रेलको सम्भाव्यता अध्ययन अघि बढाउने घोषणा गरिएको छ।
टोखा–सुरुङ मार्ग निर्माणलाई तीव्रता दिने, विष्णुमती, सामाखुसी, धोबीखोला, टुकुचा लगायत खोलाको संरक्षण र कोरिडोर विकासमार्फत जल पर्यटन प्रवद्र्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
सहकारी, रोजगारी र हरित सहर अवधारणा
तीन खम्बे आर्थिक नीतिअनुसार सहकारी क्षेत्र सुदृढ गर्ने, कृषि उत्पादन–प्रशोधन र बजारीकरणमा सहकारीलाई प्रभावकारी बनाउने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पोखरेलले जनाएका छन् ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्दै प्राङ्गारिक मल उत्पादन गर्ने र काठमाडौँ–५ लाई कौसी खेतीमार्फत ‘हरित कृषि सहर’का रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ ।
उम्मेदवार पोखरेलले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र क्षेत्रीय समृद्धिका लागि जनतासँग सहयोगको अपिल गरेका छन् । उनले विगतदेखि निरन्तर जनतासँगै रहेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा विजयी गराई आफ्नो प्रतिबद्धता कार्यान्वयनको अवसर दिन आग्रह गरेका छन् ।
पोखरेलको प्रतिबद्धतापत्रको पूर्णपाठ :
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकहरूमा
मेरो प्रतिबद्धता
नेपाली जनताको सात दशक लामो सङ्घर्ष र बलिदानको जगमा नेपाली जनताका प्रतिनिधिले पहिलो पटक बनाएको ‘नेपालको संविधान २०७२’को नेतृत्वदायी भूमिकाका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचनबाट २०७४ मा नेकपा (एमाले) सबभन्दा ठूलो पार्टी बन्यो । ठूलो दल एमाले नेतृत्वको सो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई अर्जुनदृष्टि बनाई देशमा आर्थिक–सामाजिक रूपान्तरणका दीर्घकालीन आयोजनाहरू सुुरुआत गरी समाजवादको आधार निर्माणको यात्रा प्रारम्भ ग¥यो । तर त्यस लगत्तैको राजनीतिक अस्थिरताको शृङ्खलाले समाजवाद–उन्मुख उक्त यात्रामा अवरोध उत्पन्न गरिरह्यो । आगामी फागुन २१ गते हुने निर्वाचनबाट जनताको स्पष्ट बहुमत प्राप्त गरी व्यवधान खडा गराइएको यात्रालाई पुनः तेज गतिमा अगाडि बढाउन नेकपा (एमाले)ले अगाडि सारेको घोषणा–पत्र ‘एमालेले बनाउँछ’को कार्यान्वयन गर्न पूर्ण पहलकदमी लिने वाचाका साथ देश र जनताका नाममा काठमाडौँ क्षेत्र नम्बर ५ का आदरणीय नागरिकसमक्ष निम्नलिखित क्षेत्रीय प्रतिबद्धता निवेदन गर्दछु ः
१. ‘पहिला देश’को अवधारणामा राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, सामाजिक एकता र जनताको अधिकारको रक्षा तथा यसमा कुनै आँच आउन नदिनु मेरो पहिलो प्राथमिकता र आधारभूत सङ्कल्प हुने छ ।
२. सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न विद्यालय शिक्षा ऐन, सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायतका अत्यावश्यक ऐनहरू तथा संविधानअनुसार अद्यावधिक गर्नुपर्ने ऐन÷कानुनहरू एक वर्षभित्र निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिने छ ।
३. शिक्षालाई व्यावहारिक सिप र रोजगारीसँग जोडेर असल र सक्षम नागरिक उत्पादन गर्न नीतिगत सुधारहरू गरिने छन् । काठमाडौँ क्षेत्र नम्बर ५ लाई शिक्षा–केन्द्रका रूपमा विकास गर्न विद्यमान सामुदायिक तथा गुठी विद्यालयहरूमा पूर्वाधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि गरिने छ । यस क्षेत्रको उपयुक्त स्थानमा आधुनिक प्रविधियुक्त प्राविधिक महाविद्यालयको स्थापना र सञ्चालन गरिने छ । नवप्रवर्तनात्मक सिर्जनशीलतालाई प्रोत्साहन गर्दै युवाहरूलाई स्वरोजगार बनाउन यथेष्ट पहल गरिने छ ।
४. स्वास्थ्य सेवालाई जनताको सहज पहुँच र सुलभ उपयोग गर्न नीतिगत कामहरू गरिने छन् । स्वास्थ्य बिमा कार्यक्रमलाई अद्यावधिक र क्षेत्र विस्तार गरी भरोसायोग्य र व्यावहारिक बनाउन पहल गरिने छ । यस क्षेत्रमा रहेका देशकै प्रतिष्ठित सरकारी अस्पतालहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका निकायहरूलाई राज्यबाट थप स्रोत, साधन र सहयोग उपलब्ध गराई गुणस्तर र सेवा विस्तारसहित अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने विशिष्ट विशेषज्ञ (सुपर स्पेसियालिटी) अस्पतालका रूपमा विकास गरिने छ । टोखा चण्डेश्वरी प्रदेश अस्पताललाई न्यूनतम सेवा मानक स्तरीय बनाउन पहल गरिने छ । क्षेत्रका सबै वडाहरूमा आधारभूत प्रयोगशालासहितको ‘सहरी स्वास्थ्यसेवा केन्द्र’ स्थापना गरी स्वास्थ्यसेवालाई जनताको घरदैलोमा पु¥याइने छ ।
५. सामाजिक एकता र समानता अभिवृद्धि गर्न नेपाली समाजमा विद्यमान भौगोलिक, सामाजिक, जातीय, लैङ्गिक तथा शारीरिक भेदभाव अन्त्यका लागि उचित कानुनी तथा नीतिगत प्रबन्ध गरिने छ । भिन्न रूपले सक्षम नागरिकहरूलाई व्यक्ति विशेषको क्षमतामा आधारित तालिम प्रदान गरी पुनःस्थापन गर्न र आत्मनिर्भर बनाउन यस क्षेत्रको उपयुक्त स्थानमा एक सुविधासम्पन्न केन्द्र स्थापना गरिने छ ।
६. यस क्षेत्रबाट निर्वाचित नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा जनताका प्रिय नेता स्व. मनमोहन अधिकारीको सपनालाई साकार पार्न यस क्षेत्रमा राष्ट्रकै नमुना ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ निर्माण गरी ज्येष्ठ नागरिकलाई स्वस्थ, खुसी र सुखी बनाउन दिवा सेवा सञ्चालन गरिने छ ।
७. नेपालका प्राकृतिक, ऐतिहासिक÷पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरूलाई आन्तरिक र बाह्य पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरी त्यसका माध्यमबाट समेत राष्ट्रिय समृद्धि हासिल गर्न उचित नीति तथा कार्यक्रमका लागि पहल गरिने छ । काठमाडौँ क्षेत्र नम्बर ५ मा रहेको लिच्छविकालीन वैभवपूर्ण राजधानी– हाँडीगाउँ, लिच्छविकालीन संस्कृति संरक्षित क्षेत्र – टोखा र धार्मिक क्षेत्र – बुढानीलकण्ठलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउन पहल गरिने छ । टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा सहज ढङ्गले पु¥याउन वा यसको सहज पहुँच बनाउन आवश्यक सबै काम गरिने छ । बुढानीलकण्ठको चिसिनी, डाँडागाउँलगायतका तामाङबस्तीमा तामाङ होमस्टेको विकास र विस्तार तथा टोखामा नेवार होमस्टे स्थापना र सञ्चालन एवम् टोखा चण्डेश्वरी–बुढानीलकण्ठ–बागदरबार–चिसापानी हुँदै गोसाईंकुण्ड जाने पदमार्ग निर्माण गर्न पहल गरिने छ ।
८. काठमाडौँ उपत्यका, चुरे क्षेत्रलगायतको जमिनमुनिको पानी सतह निकै तल खस्केर समस्या उत्पन्न भइरहेको विद्यमान अवस्थामा पानी पुनर्भरणको उचित नीति तथा कार्यक्रम ल्याउन पहल गरिने छ । काठमाडौँ उपत्यकाको पानी पुनर्भरणको महत्त्वपूर्ण प्राकृतिक स्थल यसै क्षेत्रको शिवपुरी राष्ट्रिय निकुञ्जको काख रहेको अध्ययनहरूले देखाएका हुँदा उपयुक्त स्थानमा बर्सातको पानी सङ्कलन गर्न ठुला पुनर्भरण पोखरीहरू निर्माण गरी पानीको स्रोत तथा पर्यटकीय विकासमा समेत उपयोग गर्न आवश्यक पहल गरिने छ ।
९. बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न सहर नीति बनाउन पहल गरिने छ । काठमाडौँ क्षेत्र नम्बर ५ भित्रका बस्तीहरूलाई नमुना बस्तीका रूपमा विकास गर्न हरेक चोकमा सिसिटिभी, सडक बत्ती र सुरक्षा साइरन जडान गर्न तथा विभिन्न स्थानमा सामुदायिक प्रहरी स्थापना गर्न स्थानीय सरकारलाई प्रेरित गर्दै स्रोत व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरिने छ । साथै स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै टोखा र बुढानीलकण्ठ नगरपालिकाका सम्भव वडाहरूमा एकीकृत बस्तीको विकास गरिने छ ।
१०. तीन खम्बे आर्थिक नीतिको एक अभिन्न खम्बा सहकारीलाई व्यवस्थित र दिगो बनाउन आवश्यक कानुनी सुधार गरी प्रभावकारी प्रोत्साहन, नियमन र अनुगमनबाट सहकारी अभियानलाई थप मजबुत र जिम्मेवार बनाउन पहल गरिने छ । सहकारीमार्फत कृषि उपजको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्न आवश्यक अभिमुखीकरण र प्रोत्साहन गरिने छ ।
११. खानेपानी अभावलाई सम्बोधन गर्न वर्तमान पानी वितरण प्रणालीलाई सुदृढ गर्दै मेलम्ची खानेपानी योजनाले नसमेटेका क्षेत्रमा स्थानीय स्रोतको उपयोग गरी उक्त क्षेत्रका सम्पूर्ण घरमा स्वच्छ खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउन योजना बनाई कार्यान्वयन गरिने छ ।
१२. काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित गर्न नीतिगत व्यवस्थाका लागि पहल गरिने छ । स्थानीय सरकारसँगको सहकार्यमा मेट्रो रेलको सम्भाव्य अध्ययन गरिने छ । सार्वजनिक यातायातको स्तरोन्नति, ट्राफिक सचेतनालगायतका कामहरूका लागि उचित पहलकलमी लिइने छ । टोखा–सुरुङ मार्ग निर्माण अविलम्ब अघि बढाउन पहल गरिने छ । विष्णुमती, सामाखुसी, धोबीखोला, टुकुचा, सपनतीर्थ, लुँडे लगायतका खोला तथा खहरेहरूको स्वच्छता र विष्णुमती खोलाको सौन्दर्यकरणबाट जल पर्यटन समेत विकास गर्ने उद्देश्यले खोलाको दुवैपट्टि ठाउँ विशेषको आवश्यकता र अवस्था हेरी व्यवस्थित कोरिडोर निर्माण गर्न आवश्यक पहल गरिने छ । नदी नियन्त्रण तथा कोरिडोर व्यवस्थापन गरी टुकुचा, सामाखुसीलगायतका सम्भाव्य बाढी प्रकोप क्षेत्रलाई व्यवस्थित गराइने छ ।
१३. पालिकाहरूलाई सबलीकरण र सशक्तीकरण गर्न आवश्यक कानुनी, नीतिगत तथा कार्यक्रमिक पहल गरिने छ । पालिकाहरूसँग समन्वय गरी हरेक वडामा मनोरञ्जनस्थल, पार्क, वाचनालय, व्यायामशाला, योग, ध्यान तथा साधना केन्द्र, सार्वजनिक शौचालयलगायत सार्वजनिक उपयोगका भौतिक संरचनाहरू तथा उपयुक्त स्थानमा खेलमैदान निर्माण गर्न पहलकदमी लिइने छ । युवा तथा किशोर–किशोरी लक्षित सृजनशील साहित्यिक–सांस्कृतिक क्रियाकलाप, खेलकुद, सिप, व्यक्तित्व, व्यावसायिक दक्षता तथा नेतृत्व विकास लगायतका युवा लक्षित कार्यहरू गर्न पहल गरिने छ । युवाहरूलाई सूचना प्रविधिसम्बन्धी आवश्यक तालिम प्रदान गरी स्वरोजगारी सृजनाका लागि प्रोत्साहन गरिने छ ।
१४. प्रवासी नेपालीको ज्ञान, सिप, अनुभव र पुँजीलाई नेपालको उत्पादन क्षेत्रमा सदुपयोग गर्ने गरी विशेष नीतिसहित संरचना बनाइने छ । निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ र लगानीमैत्री वातावरण निर्माण गरिने छ । मौलिक सिप तथा उद्योगको प्रवर्धन, उद्यमशीलता विकास र श्रम संस्कृति प्रवर्धनलगायतबाट रोजगारीे अभिवृद्धि गरिने छ ।
१५. व्यक्तिगत स्वामित्वका जग्गाहरूको उत्पादनमूलक कार्यमा उपयोग गर्न जग्गाधनीहरूलाई प्रोत्साहन गर्नुका साथै सरकारी जमिनको संरक्षण र सदुपयोग गर्ने नीति बनाउन पहल गरिने छ । यस क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरूको खोजी तथा संरक्षण गर्दै पर्यावरणीय प्रवर्धन गरी सार्वजनिक हितका निम्ति प्रयोग गर्न स्थानीय सरकारलाई सहयोग गरिने छ ।
१६. काठमाडौँ उपत्यकाको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न प्राङ्गारिक मल उत्पादनसमेतको अवधारणायुक्त आधुनिक प्रविधि उपयोग गर्न पहल गरिने छ । पाँच नम्बर क्षेत्रलाई कौसी खेतीमार्फत हरित कृषि सहरका रूपमा विकास गर्न उचित कार्यक्रम ल्याइने छ र यसका लागि सबै तहका सरकारहरूसँग आवश्यक समन्वय गरिने छ ।
राष्ट्रिय स्वाधीनताको रक्षा र जनताले सात दशक लामो अनवरत सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधानलाई थप सशक्त र क्रियाशील बनाउनुका साथै यस क्षेत्रको समृद्धि र विकासका निम्ति गर्नुपर्ने कामहरू अझै धेरै छन् । यी कामहरू सम्पन्न गर्न हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा ‘सूर्य’ध्वजावाहक उम्मेदवारका रूपमा मलाई प्रस्तुत गरेको छ । म विगत लामो समयदेखि विजयी हुँदा र उपविजेता हुँदा समेत तपाईंहरूकै साथमा रहँदै आएको छु र आगामी दिनमा समेत तपाईंहरूका साथमा रहिरहने छु । माथि उल्लिखित प्रतिबद्धताहरू प्रभावकारी ढङ्गले पूरा गर्न तपाईंहरूले आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन हृदयतः सादर अनुरोध गर्दछु । तपार्इंहरूकै समुन्नतिका लागि तपार्इंहरूको सहयोगको अपेक्षासहित,
ईश्वर पोखरेल
प्रतिनिधिसभा सदस्य उम्मेदवार
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५
प्रतिनिधिसभा निर्वाचन, २०८२






Facebook Comments