काठमाडौं । पूर्वप्रधानन्यायाधीशकल्याण श्रेष्ठले कानून निर्माणलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन्।

कुष्ठरोगसम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम तथानेपाल ल सोसाइटीद्वारा आयोजित छलफलमा बोल्दै उनले कानून निर्माण प्रक्रियामा सरोकारवाला पक्षको सहभागिता सुनिश्चित नगर्दा त्यसको प्रभावकारी कार्यान्वयन सम्भव नहुने बताए।

उनका अनुसार सबै सम्भावनालाई बेवास्ता गर्दै अन्धविश्वासका आधारमा कानून बनाइए त्यस्ता कानून व्यवहारमा सफल हुन सक्दैनन्। समाजमा कुष्ठरोगजस्ता विषयमा खुला संवाद हुन नसकेको र प्रभावित व्यक्तिका वास्तविक समस्यामाथि गहिरो छलफल नगरेको उनले उल्लेख गरे।

श्रेष्ठले कुष्ठरोग प्रभावित व्यक्तिहरू पनि सम्मानका साथ जीवनयापन गर्न र समाज तथा राष्ट्रका लागि योगदान दिन सक्षम रहेको धारणा स्थापित नगरी कानून बनाइएकै कारण यसको कार्यान्वयन कमजोर भएको बताए।

अन्धविश्वासकै प्रभावका कारण कुष्ठरोग निवारण अभियानमा समेत समस्या देखिएको उनले औंल्याए। विगतमा कुष्ठरोगलाई ‘महारोग’का रूपमा लिई छुन नहुने रोग भनेर हेरिएको स्मरण गर्दै उनले यस रोगका विभिन्न चरणहरू हुने, उपचार सम्भव हुने, पुनर्वास र सामान्यीकरण गर्न सकिने विषयमा पर्याप्त ध्यान नदिइएको बताए।