
सर्लाही । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सर्लाही क्षेत्र नं.३ बाट दिएको उम्मेद्वारी उनले फिर्ता लिएको घोषणा गरेका हुन् ।
दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विनोदकुमार खनाललाई समर्थन गर्ने बताएका हुन् ।
राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिन्हमा उम्मेद्वारी दिएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेद्वार खनालको पक्षमा उभिने स्पष्ट पारे।
“मैले आफ्नो उम्मेद्वारी फिर्ता लिएको छु, अब म र मेरो पार्टीको तर्फबाट कांग्रेस उम्मेद्वार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ,” दाहालले बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस उम्मेद्वार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा कांग्रेसका जिल्ला सचिव निरोज कार्की, हरिवन नगर सभापति रामशरण उप्रेतीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
दाहालको उम्मेद्वारी फिर्ता र कांग्रेसलाई समर्थनले सर्लाही क्षेत्र नं.३ मा कांग्रेस थप बलियो भएको छ ।







Facebook Comments