रौतहट ।प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएकाऋषि धमलाले शिक्षा, रोजगारी, स्वास्थ्य, कृषि र पूर्वाधारलाई केन्द्रमा राख्दै व्यापक विकास खाका सार्वजनिक गरेका छन्।आम जनता पार्टीका तर्फबाट अघि सारिएको उनको मूल नारा—‘हर घर मिले रोजगार’—रौतहट–४ लाई अवसर, आत्मनिर्भरता र सम्मानतर्फ डोर्याउने प्रतिबद्धतासहित आएको छ।
इतिहासको गौरव, वर्तमानको चुनौती
रौतहट राजनीतिक र ऐतिहासिक दृष्टिले सधैं अग्रपंक्तिमा रहँदै आएको जिल्ला हो।चन्द्रशमशेर राणाद्वारा बसालिएको चन्द्रनिगाहपुर बजार र निर्माण गरिएको चन्द्रनहरले विकासको प्रारम्भिक आधार तयार पारे पनि समयक्रममा जिल्ला अपेक्षाकृत पछि परेको यथार्थलाई धमलाले स्वीकारेका छन्। लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको रौतहट आज गरिबी, बेरोजगारी, अशिक्षा र आधारभूत सेवाको अभावसँग जुधिरहेको उल्लेख गर्दै उनले “अब प्रश्न होइन, समाधान चाहिन्छ” भन्ने सन्देश दिएका छन्।
शिक्षामा गुणस्तर र पहुँचको विस्तार
धमलाको पहिलो प्राथमिकता शिक्षा हो। गरिबीका कारण विद्यालय छाड्ने अवस्थाको अन्त्य, विषयगत शिक्षकको अभाव पूर्ति, सामुदायिक विद्यालयको सुदृढीकरण र सूचना–प्रविधिमैत्री शिक्षाको विस्तार उनको कार्ययोजनामा छ। मदरसा शिक्षालाई व्यवस्थित गर्दै उच्च अध्ययनका अवसर विस्तार गर्ने, जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति सुनिश्चित गर्ने र व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्ने उनले बताएका छन्।
‘हर घर मिले रोजगार’—आत्मनिर्भर रौतहटको आधार
रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै उनले प्रत्येक पालिकामा आयमूलक कार्यक्रम सञ्चालन गर्ने, व्यावसायिक कृषि विस्तार गर्ने र महिला स्वरोजगार कार्यक्रमलाई घरघरमा पुर्याउने योजना अघि सारेका छन्। साना तथा मझौला उद्योग स्थापना, युवाका लागि स्टार्टअपमा सहुलियत ऋण र अनुदानको पहल, तथा उखु किसानलाई उचित मूल्य सुनिश्चित गर्न उद्योगसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाएका छन्। लक्ष्य—विदेश पलायन होइन, आफ्नै माटोमा अवसर।
स्वास्थ्य सेवा घरदैलोमै
रौतहट–४ मा स्तरीय अस्पताल स्थापना, स्वास्थ्य चौकीलाई दक्ष जनशक्तिसहित सुदृढ बनाउने र रेफर सेन्टरको निर्भरता घटाउने योजना उनले सार्वजनिक गरेका छन्। ‘एक घर एक धारा’ कार्यक्रममार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने र आर्सेनिकयुक्त पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उनको संकल्प छ।
कृषिमा पानी, उत्पादनमा वृद्धि
निर्माणाधीनसुनकोशी–मरिन डाइभर्सन आयोजनाशीघ्र सम्पन्न गराउन संघीय तहसम्म पहल गर्ने, बागमती नदी र चाँदी खोलाको सिंचाई व्यवस्थापन सुदृढ गर्ने तथा कृषकलाई सहुलियत ऋण उपलब्ध गराउने योजना प्रस्तुत गरिएको छ। वर्षैभरि सिंचाई उपलब्ध गराई उत्पादन र आम्दानी बढाउने लक्ष्य राखिएको छ।
चुरे संरक्षण र पर्यटन प्रवर्द्धन
मधेशको माटो जोगाउन चुरे क्षेत्र संरक्षणमा विशेष ध्यान दिने र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको व्यवस्थित विकासमार्फत आन्तरिक–बाह्य पर्यटन प्रवर्द्धन गर्ने उनको प्रतिबद्धता छ।
खेलकुदमार्फत युवा सशक्तीकरण
महिला फुटबलमा रौतहटको पहिचानलाई अझ मजबुत बनाउने, पुरुष फुटबल र क्रिकेटको विकासमा लगानी गर्ने र खेलकुदमार्फत अनुशासित, सक्षम युवा उत्पादन गर्ने योजना उनले अघि सारेका छन्।
अनुभवलाई विकासमा रूपान्तरण
३५ वर्ष लामो पत्रकारिता अनुभव र देश–विदेशका नीति–निर्माता, उद्योगी तथा विज्ञसँगको सम्बन्धलाई विकासमा रूपान्तरण गर्ने दाबी गर्दै धमलाले “रौतहट–४ को उन्नति नै मेरो जप र तप” भएको बताएका छन्।
‘रौतहट चार धमलाका बार’नारासहित अघि बढेको यो अभियानले रौतहट–४ लाई अवसर, रोजगारी र आधारभूत सेवामा सुधारसहित समृद्धिको नयाँ यात्रातर्फ अग्रसर गराउने लक्ष्य लिएको छ। अब निर्णय मतदाताको हातमा छ—प्रश्नबाट समाधानतर्फ।






Facebook Comments