काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा मोबाईल चुनाब चिन्ह लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै ईश्वर पोखरेललाई समर्थन गरेको घोषणा गरेकी छन् ।

शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आयोजित कार्यक्रममा एमालेका उम्मेदवार पोखरेलको उपस्थितीमा पौडेलले समर्थन गर्ने घोषणा गरेकी हुन् । पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई समर्थन गरेको स्पष्ट पारिन् ।

आम जनता पार्टीबाट उम्मेदवारी दिएकी पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरिन् ।

कार्यक्रममा पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सहि ठाँउमा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन् । पोखरेलले अहिले मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिगबाट बाहिर रहेकाले त्यसलाई सहि ठाँउमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनलाई सही परिणाम दिने अवसरको रुपमा परिणत गर्नुपर्ने बताएका हुन् ।

‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रुपमा लिनुपर्छ जस्तो लाग्छ । त्यो जनमत संग्रह भनेको देश बनाउनेहरू र बिगार्नेहरूबीचको जनमत संग्रह हो । त्यसकारण नेकपा (एमाले)ले देश बनाउनेहरूको प्रतिनिधित्व गर्छ,’ पोखरेलले भने । उनले केही शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोशिस गरिरहेको पनि बताए ।

‘देश बिगार्नेहरू पनि छन । र तिनीहरू पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोशिस गरेका छन । तर हाम्रो कोशिस, नेकपा एमालेका कोशिस के भने भने देश बनाउनेहरूले निर्णायक शक्तिको रुपमा  आउनु पर्छ । हामी यो निर्वाचनलाई त्यो परिणाममा पु¥याउन चाहन्छौँ,’ पोखरेलले भने ।

उनले आगामी निर्वाचनमा सहभागी भएर मुलुक रुपान्तरणको अभियानमा साथ दिन समेत आह्वान गरे । देशभन्दा ठूलो कुरा अरू केही हुन नसक्ने भन्दै पोखरेलले हित विपरीत भइरहेका गतिविधिबिरुद्ध देशभक्तहरु एकठाउमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

अहिलेको निर्वाचन देश बनाउने र देश बिगार्नेबीचको जनमत संग्रह भएकाले देश बनाउने पक्षलाई जनताले साथ लिने उनको विश्वास छ । 

एमालेले शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, रोजगारीको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा, यी यस्ता विविध क्षेत्रमा– कृषिमा, उद्योगमा, पूर्वाधारमा, ऊर्जामा केन्द्रित भएको पोखरेलको भनाइ छ ।