गोरखा।नेपाली कांग्रेसका गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमबहादुर खत्रीबारे भ्रामक र कपोलकल्पित समाचार प्रकाशन गरिएको भन्दैएस दी हिमालयले कडा आपत्ति जनाएको छ।

कम्पनीका सञ्चालकसमेत रहेका खत्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हवाला दिँदै छानबिन भइरहेको भन्ने समाचार सार्वजनिक भएपछि कम्पनीले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो। कम्पनीका अनुसार खत्रीमाथि हालसम्म कुनै पनि अनुसन्धान नभएको र निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले चरित्र हत्या गर्ने गरी प्रचार गरिएको दाबी गरिएको छ।

एस दी हिमालयका महाप्रबन्धक सुजन खत्रीले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक समाचारप्रति भ्रममा नपर्न आग्रह गरेका छन्। उनले कम्पनीका सञ्चालक खत्री विगत डेढ दशकभन्दा बढी समयदेखि “राजनीति पेशा होइन, सेवा हो” भन्ने मूल मन्त्रका साथ विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा “एस दी हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु” भन्ने शीर्षकमा प्रकाशित समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारिएको छ। तथाकथित ‘नक्कली उद्धार प्रकरण’ सम्बन्धी सामग्रीमा सीआईबीको हवाला दिइए पनि कम्पनी वा सञ्चालकसँग सम्बन्धित कुनै अनुसन्धान नभएको जानकारी सम्बन्धित निकायबाट बुझिएको दाबी गरिएको छ। सम्बन्धित निकाय स्वयं यस विषयमा अनविज्ञ रहेको समेत कम्पनीले जनाएको छ।

कम्पनीले नियोजित रूपमा प्रतिष्ठा र चरित्र हत्या गर्ने तथा आगामी फागुन २१ गते हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले समाचार प्रकाशित गरिएको ठहर गर्दै संलग्न पक्षविरुद्ध कानूनी उपचारको प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।